कालापानी समस्या अन्तराष्ट्रियकरण नगरौँः प्रचण्ड
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहलमार्फत महाकालीको सीमा विवाद समाधान गर्नुपर्नेमा जोड दिएका छन् । उत्तेजना फैलाएर समस्या समाधान नहुने प्रचण्डको भनाई छ ।
संसदको राज्य व्यवस्था समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ‘लिम्पियाधुरा महाकालीको मुहान हो । महाकाली नदी सीमा नदी हो’ भन्ने प्रष्ट रहेको बताए । यसमा कुनै कन्फ्युजन नरहेको भन्दै उनले प्राप्त प्रमाणहरु संकलन गरेर भारत सरकारसँग गम्भीर वार्ताबाट समाधान गर्नुपर्ने बताए ।

कालापानी र सुस्तामा सीमा समस्या छ भनेर दुबै देशले स्वीकार गरेको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘हामी एक इन्च जमिन छोड्न पनि सक्दैनौं, अरुको एक इन्च जमिन पनि चाहिएन । यही मान्यतामा उभिने हो ।’ तर यस विषयमा उत्तेजना वा भ्रम फैलाएर समस्या सामाधान हुने उनले बताए ।
सीमा विवादको विषयलाई कूटनीतिक रुपमा समाधान गर्नुपर्नेसमेत उनले प्रष्ट पारे । ‘सीमा विवादको विषयलाई अहिले नै अन्तराष्ट्रियकरण गरियो भने समस्या पैदा हुन सक्छ’, प्रचण्डले थपे,‘त्यसैले यो विषयलाई अहिले नै अन्तराष्ट्रियकरण गर्ने बेला भएको छैन, यो समस्याको समाधानका लागि राजनीतिक र कूटनीतिक पहल गर्नुपर्छ । भएन भने के गर्ने त्यतिबेला सोचौंला नि ।’








फेसबुकबाट कमेन्ट गर्नुहोस्