भारतले नेपालको सिमा मिचेकोबारे चीन बोल्यो
नेपाल र भारतबीच कालापानी क्षेत्रको सीमा विवाद भइरहेका बेला चीन पनि बोलेको छ । नेपाली भूमि आफूले अतिक्रमण नगरेको प्रष्टीकरण दिएको चिनले कालापानीको विवाद भने नेपाल र भारतले आपसी सम्वादबाट सुल्झाउनु पर्नेमा जोड दिएको छ ।
काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ता वाङ सिओयोलोङले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सदवै सम्मान गर्ने बताएका छन् । ‘केही गैरजिम्मेवार सञ्चार माध्यम र समूहले चीनले पनि नेपाली भूमि अतिक्रमण गरेको दाबी गरेका छन्’ बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता वाङले भने, ‘यो आरोप आधारहीन छ ।’
सही के र गलत के भन्नेमा मानिसहरु दिग्भ्रमित पार्न यस्तो प्रचार गरिएको उनले बताए । नेपाल र चीनले १९६१ मा सीमासन्बन्धी सन्धिमा हस्ताक्षर गरेको र त्यसअनुसार सीमा तय गरिएको उनले बताएका छन् ।
हालै मात्र भएको चिनियाँ राष्ट्रपति शी जिनपिङको भ्रमणका क्रममा सीमा व्यवस्थापनबारे समेत सहमति भएको स्मरण गर्दै दूतावासका प्रवक्ता वाङले भने, ‘सीमाका विषयमा सहकार्य थप मजबुत बनाउन र बाह्य हस्तक्षेप आउन नदिन चिनियाँ पक्ष तयार छ ।’
उनले नेपाल चीन सम्बन्धलाई कमजोर बनाउने कुनै पनि प्रयास सफल हुन नदिने समेत बताएका छन् । तर लिपुलेकबारे भने बोलेनन् । चीन र भारतले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सहमति गर्दा नेपालले यो त्रिदेशीय विन्दु भएको भन्दै विरोध गरेको थियो ।
लिपुलेक पनि कालापानी क्षेत्रमा पर्छ । हालै मात्र जम्मु कश्मीरलाई दुई केन्द्र शासित प्रान्त बनाएपछि भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्रलाई समेत भारतमा देखाइएको थियो । त्यसको नेपालमा चर्को विरोध भइरहेको छ भने सरकारले पनि एकपक्षीय नक्सा अस्वीकार्य भएको बताएको छ ।
कतिपयले भने चिनियाँ पक्षले पनि नेपाली भूमि अतिक्रमण गरेको सरकारको ध्यानाकर्षण गराएका थिए । सोमबार संसदको राज्यव्यवस्था समितिकै बैठकमा नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह र देवेन्द्रराज कँडेलले चीनले पनि नेपाली सीमा मिचेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्