सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मार्चबाट जापानको नारितामा नेपाल एयरलाईन्स

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आगामी फागुन १९ (मार्च २) देखि ओसाका उडान बन्द गरेर जापानको राजधानी टोकियोबाट नजिकै रहेको नारिता विमानस्थलमा उडान गर्ने भएको छ ।

जापान सिभिल एभिएसन ब्यूरो (जेक्याप)सँग निगमले गत मंगलबार ग्राउन्ड ह्याण्डलिङ सम्झौता गरेको छ । यो सम्झौतापछि निगमले औपचारिक रूपमा नारिता विमानस्थलमा उडानको प्रक्रिया अगाडि बढेको छ ।

सम्झौतासँगै निगमले मार्चदेखि नियमित उडान गर्ने गरी कार्यतालिका बनाएको निगमका प्रवक्ता गणेशबहादुर चन्दले बताएका छन् । उनका अनुसार निगमले गरिरहेको ओसाका उडानमा एकतर्फी दुई सय यात्रु हुन थालको र राम्रै भराई दर हुदैँ गएको भएपनि जहाज अभाव तथा सबैको राजधानी केन्द्रित उडानको माग भएकोले ओसाका बन्द गरेर नारिता जान लागिएको हो ।

निगमले दुबैतर्फको गन्तव्यमा उडान गर्न जहाज संख्या नपुग्ने र भएकै जहाजबाट नारिता गर्नुपर्ने भएको छ । नारिता जापानको राजधानीकेन्द्रित विमानस्थल हो । यो विमानस्थल टोकियो सहरबाट ६० किलोमिटर दूरीमा छ ।

यस अघि वायुसेवा निगमले १२ वर्षअघि नियमित उडान गरेर ओसाका उडान बन्द गरेको थियो । निगमले जहाजको संख्या थप गर्न नसकेका कारण १३ वर्ष नियमित गरेको उडान गरेर बन्द गरेको थियो ।

Nepal Airlines in Japan

निगमले सन् १९९४ को डिसेम्बर ३० देखि सन् २००७ को अप्रिल १२ सम्म नियमित गरेको उक्त उडान वाइडबडी जहाज भित्र्याएपछि पुन सातामा दुई वटै उडान गरिरहेको छ ।

त्यतिबेला निगमले बोइङ ७५७ नामक जहाजबाट चीनको सांघाइ हुँदै ओसाकासम्म उडान गथ्र्यौ । यो उडान पनि जम्मा ६ महिना सञ्चालन गरेर बन्द गर्ने निर्णय गरिसकेको छ । निगमले गत भदौ १२ देखि सुरु गरेको ओसाका उडान आगामी फागुन १९ सम्ममा सुरु गर्दा जम्मा ६ महिना एक साता मात्रैको हुनेछ ।

निगमले हाल सातामा दुई वटा (मंगलबार र शनिबार) काठमाडौंबाट जापानको ओसाकामा सिधा उडान गरिरहेको छ । उडानमा ७५ प्रतिशतसम्म नै अकुपेन्सी पुगिसकेको भएपनि जापानको राजधानीमा नै जानुपर्ने माग आएपछि निगमले पनि सोही अनुसारको तयारी गरेको उल्लेख छ ।

निगमका अनुसार मार्चदेखि साताको तीन वटा (सोमबार, बुधबार र शुक्रबार) काठमाडौंबाट सिधा नारिता उडान गर्ने भएको छ । नारितामा करिब १४ घण्टाको दुईतर्फी उडान हुनेछ ।

निगमका अुनसार जापानले उडान अनुमति भने दिन बाँकी नै छ । ग्राउन्ड ह्याण्डलिङ सम्झौता गरेपछि अब निगमले यही नोभेम्बरभित्र उडान अनुमतिको निवेदन जेक्यापमा पेश गर्नेछ । त्यसपछि जेक्यापले हाम्रो निवेदन स्वीकार गरेको ४५ दिनभित्र उडान अनुमति दिनेछ ।

जापानले उडान अनुमति दिएपछि निगमले साप्ताहिक तालिका सार्वजनिक गर्नेछ । निगमका अनुसार हाल ओसाका नियमित उडान गरिरहेकोले जापान उडान हुन्छ भनेर सबैलाई थाहा भइसकेको छ । अब ओसाकाको सट्टा नारिता जाने भनेर एक साताको तयारीले नै पुग्ने दाबी निगमका एक उच्च कर्मचारीको भनाइ छ ।

निगमले पहिलोपटक लामो दुरीको उडान क्षमता भएको एयरवसको ए ३३०–२०० सिरिजको वाइडबडी जहाज भित्र्याएपछि करिब एक वर्षको पहलमा जापान उडान सुरु गर्न सफल भएको थियो ।

निगमका यस अघिका महाप्रवन्धक सुगतरत्न कंसाकारले नारिता उडान सुरु गर्ने योजना बनाएका भएपनि मदन खरेल कार्यकारी अध्यक्ष भएपछि पुरानो व्यवस्थापकले गरेको निर्णयलाई उल्टाउने नयाँ गन्तव्यमा उडान योजना बनाए । निगमले तय भइसकेको नारिताको उडानलाई रद्द गरेर ओसाका सुरु गरेको थियो ।

निगमको वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जानुपर्ने नारिता तयारी गरियो ओसाका, तुरुन्त नारिता सुरु गर्नुस्’ भनेर निगमलाई निर्देशन दिएका थिए ।

वाइडबडी जहाज भित्रिएपछि निगमले समयमा नै अन्तराष्ट्रिय उडानको व्यवस्थापन मिलाउन नसक्दा र निगमले लिएको २४ अर्ब रुपैयाँको ऋण सावा व्याज भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको छ ।

हरेक तीन महिनामा निगमले वाइडबडीको ८० करोड ८२ लाख रुपैयाँका दरले तिर्नुपर्छ भने न्यारोबडीका लागि ३३ करोड ९ लाख रुपैयाँ जहाज खरिद बापत लिएको ऋणको किस्ता तिर्नुपर्छ । निगमले यस्तो किस्ता एक वर्षदेखि बुझाउन सकेको छैन । निगम आर्थिक संकटमा पर्दै गएको र सरकारसँग २० अर्ब रुपैयाँ माग गरेको छ ।

निगमले अन्तराष्ट्रिय गन्तव्यमा उडान विस्तार गर्न नसक्दा र नाफामा लैजान नसकेका कारण पनि हाल घाटाको ओसाकालाई बन्द गरेर नारिता तयारी गर्न बाध्य भएको निगमकै भनाइ छ । सरकारले दिएको निर्देशन पालना गर्न र अब नाफा गर्नुपर्ने बाध्यता भएकोले पनि निगमले ओसाकालाई बन्दै गरेर नारिता जाने निर्णय गरेको पनि उल्लेख छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्