प्रदेश ५ को नाम लुम्विनी, राजधानी कहाँ होला ?
प्रदेश ५ को स्थायी राजधानी र नाम सिफारिस गर्न गठित विशेष समितिले प्रदेशको नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव गरेको छ । यस्तै स्थायी राजधानीका लागि रुपन्देहीको सैनामैना (बुटवल पश्चिम) कपिलवस्तुको बुद्धभूमि वा दाङको भालुबाङ–लमही क्षेत्रलाई प्रस्ताव गरेको छ ।
प्रदेश ५ को नाम लुम्बिनी नामाकरण गर्ने विषयमा एकमतले सिफारिस गरिएको छ । स्थायी राजधानीको विषयमा भने समितिका सदस्यहरुले सञ्चारकर्मीलाई फरक–फरक नाम बताउने गरेका छन् ।
‘बुटवलबाट पश्चिम रुपन्देहीको सैनामैना, कपिलवस्तुको बुद्धभूमि र दाङलाई राजधानी सिफारिस गरिएको छ,’ विशेष समितिका एक सदस्यले भने । अर्का एक सदस्यले भने स्थायी राजधानीका लागि बुटवल र दाङ (भालुबाङ–लमही) सिफारिस भएको दावी गरेका छन् । हाल प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवल तोकिएको छ ।
विशेष समितिका संयोजक दीपेन्द्रकुमार पुन ‘सिजल’ले बाह्रै जिल्लाबाट आएका सुझाव र विज्ञ समितिको सुझावका आधारमा राजधानी हुन सक्ने स्थानहरु सिफारिस गरी प्रतिवेदन तयार पारिएको बताएका छन् ।
विशेष समितिले बनाएको प्रतिवेदन पुसको दोस्रो साता शुरु हुने प्रदेश सभाको बैठकमा प्रस्तुत हुने र संवैधानिक व्यवस्थाअनुसार टुंगो लाग्ने पुनले बताएका छन् । राजधानी र नामाकरण संसदको दुई तिहाइ बहुमतले निर्णय गर्ने संवैधानिक व्यवस्था छ ।
प्रदेशसभामा सत्तारुढ नेकपाको दुई तिहाई बहुमत भए पनि राजधानीका विषयमा पार्टीभित्र एकमत छैन । नेकपाभित्रै रुपन्देही र दाङका विषयमा मत विभाजन छ । प्रदेशसभामा सत्तारुढ नेकपाका ६१, कांग्रेसका १९, समाजवादीका ५, राजमो र राजपाका एक–एक सांसद छन् ।
विशेष समितिका एक सदस्यले सिफारिस गरिएका कुनै पनि स्थानका पक्षमा दुई तिहाइ मत नपुग्ने दावी गर्दै संविधान संशोधन गरेर टुंगो लगाउनुपर्ने अवस्था आउन सक्ने औंल्याएका छन् ।
२०७५ साउनमा गठन भएको समितिले दुई पटक म्याद थप गर्दै १६ महिना गुजारेर राजधानी र नाम सिफारिस गरी प्रतिवेदन तयार पारेको हो । पछिल्लोपटक थप गरिएको ६ महिनाको समयावधी सकिनु एक दिन अघि समितिले प्रतिवेदन तयार गरेको हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्