सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सौतेनी छोराछोरीलाई विष खुवाउँदा आफ्नै मृत्यु

वीरगञ्जमा एक महिलाको तरकारीमा विषादी हालेर खाँदा मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–२४ बहुअरीका जगदीशप्रसाद कुर्मीकी कान्छी श्रीमती ३२ वर्षिया राधिकादेवी कुर्मीको मृत्यु भएको हो । घरायसी झगडाको आक्रोशमा उनले तरकारीमै विषादी हालेर परिवारका अन्य सदस्यहरुलाई समेत खुवाएकी थिइन् ।

विषादी हालेर पकाइएको तरकारी खाएका उनका आफ्नै नाबालक छोरा र ३ सौतेनी छोरा र १ छोरी गरी ५ जना पनि सिकिस्त बिरामी भएका छन् । राधिकादेवीले गएराति गहुँबालीमा छर्ने बिषादी तरकारीमा हालेर आफुसहित परिवारका सदस्यहरुलाई पनि खुवाएकी थिइन् ।

गम्भीर बिरामी भएका राधिकासहित परिवारका ६ जनालाई उपचारका लागि गएराति नै वीरगन्जको तराई अस्पतालमा पुरयाइएको थियो । अस्पतालमा उपचारकै क्रममा राधिकादेवीको मृत्यु भएको हो ।

विषादी हालिएको तरकारी खाएर बिरामी परेका राधिकाका आफनै छोरा ३ वर्षीय विवेक कुमार तथा सौतेनी पटट्टीका तीन छोरा र एक छोरीको भने अवस्था गम्भिर रहेको जनाइएको छ ।

Poison on Food

उनीहरु पाँचै जनालाई गएराति नै वीरगन्जको नेशनल मेडिकल कलेजमा भर्ना गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिपक साहले बताए । उनीहरु पाँचै जनाको अवस्था गम्भिर रहेको प्रहरी निरिक्षक साहले बताए ।

साहका अनुसार केहिवर्ष पहिले जेठी श्रीमतीको निधन भएपछि जगदीशले अर्को विहे गरि कान्छी श्रीमतीको रुपमा राधिकालाइ घरमा भित्रयाएका थिए । सोमबार बिहानको खाना पकाउने विषयमा राधिका र सौतेनी पट्टीकी छोरी मनिषाबीच झगडा भएको थियो ।

सोही आक्रोशमा राधिकाले तरकारीमा विषादी हालेर आफुसहित परिवारका सदस्यहरुलाई पनि त्यहि तरकारी खुवाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरी निरिक्षक साहले बताए ।

पर्साकै परवानीपुरस्थित कपडा उद्योगमा काम गर्दै आएका राधिकाका श्रीमान् जगदीश भने गएराति उद्योगमै थिए । मृतक राधिकाका श्रीमान् जगदिशलाइ प्रहरी कार्यालयमा झिकाएर घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्