काठमाण्डौमा चिनियाँको साईबर अपराधको जालो
सोमबार बिहान प्रहरीले काठमाडौंको बूढानीलकण्ठ, मनमैजु, बाँसवारी लगायतका स्थानमा विदेशी नागरिक बस्दै आएका अपार्टमेन्ट र होटलहरूमा छापा मार्यो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको नेतृत्वमा मारिएको छापामा महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरको सहयोग रहेको थियो ।
छापा मार्ने क्रममा एक सय २२ विदेशी नागरिक पक्राउ परेको केन्द्रिय अनुसन्धान व्युरोले बताएको छ । उनीहरूको साथबाट ४ सय ३० वटाभन्दा बढी ल्यापटप, मोबाइल फोन र सिम बरामद गरिएको छ । पक्राउ परेका सबै चिनियाँ नागरिक भएको खुल्न आएको छ ।
एकै व्यक्तिका साथबाट ३ देखि ५ वटासम्म ल्यापटप बरामद भएको अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिएका छन् । ‘एकै व्यक्तिले किन विदेश आउँदा यत्ति धेरै ल्यापटप बोके त्यस विषयमा पनि हामीले अनुसन्धान सुरू गरेका छौं’, सिआइबीका डिआइजी निरज शाहीले भने,‘अनि त्यो ल्यापटपबाट केही गडबडी पनि देखिएको छ ।’
सिआइबीले गरेको प्रारम्भिक अनुसन्धानमा उनीहरूले नेपालमा बसेर अन्य देशमा साइबर अपराध गरेको खुल्न आएको छ । कुन–कुन देशमा अपराध गरे भन्ने जानकारी प्रहरीले गोप्य राखेको छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भनेका छन्–‘अनुसन्धान सकेपछि उनीहरूको बारेमा हामी जानकारी दिन्छौं ।’
स्रोतका अनुसार नेपाल प्रहरीका प्रमुख आइजिपी सर्वेन्द्र खनालले उनीहरूले गरेको अपराधका बारेमा सूचना पाएपछि विदेशी नागरिकमाथि अपरेसन चलाउन मातहतका निकायलाई निर्देशन दिएका थिए ।
पक्राउ परेका अधिकांश अबैध रूपमा बस्दै आएको खुल्न आएको छ । केही भने भिसा लिएर नै बसेको देखिएको छ । भिसा भएका र प्रहरीको अनुसन्धानको दायरामा नपरेका केहीलाई रिहाइ गरिसकेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्