सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अष्ट्रेलियाको आगलागीको धुवाँ पृथ्वी फन्को मार्ने

अस्ट्रेलियाको ठूलो डढेलोको धुवाँ पृथ्वीको एक फन्को छिट्टै घुमेर अस्ट्रेलिया नै पुग्ने नासाले बताएको छ । महिनौँदेखि अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा डढेलो लागेको छ र त्यसको धुवाँ प्रशान्त महासागरतर्फ बढेको छ ।

नासाका अनुसार नयाँ वर्षको पहिलो दिनको धुवाँ अहिले उत्तर अमेरिका पार भएको र ज्यानुअरी ८ सम्म पृथ्वी आधा घुमेको नासाको भनाइ छ । अमेरिकी अन्तरिक्ष संस्थाले भनेको छ–‘त्यो धुवाँले पृथ्वीको कम्तीमा एक फन्को लगाउने अपेक्षा गरिएको छ ।’

अस्ट्रेलियामा सयौँ स्थानमा डढेलो लागेको र त्यसले कम्तीमा २८ जनाको ज्यान लिनुको साथै २,००० घर ध्वस्त बनाएको छ । विज्ञहरूले ती डढेलोहरूका कारण जलवायु परिवर्तन तीव्र बनाएको दाबी गरेका छन्।

Australia Fire disaster
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रनजिकै देखिएको अष्ट्रेलियाको डढेलोको धुँवा

नासाका अनुसार ती डढेलोहरू यति विशाल छन् कि तिनले अस्वाभाविक रूपमा धेरै आगोका कारण हुने आँधीबेहरी ल्याएका छन् । त्यसको कारण धुवाँ आकाशको धेरै नै माथि पुगेको छ । धुवाँ १७.७ किलोमिटर माथिसम्म पुगेको नासाको तथ्याङ्क छ ।

नासाले भनेको छ–‘यति माथि पुगेको धुवाँ संसारभरको आकाशको अवस्थालाई प्रभावित पार्दै पृथ्वी घुम्न सक्छ ।’ नासाले त्यो उचाइको धुवाँले आकाशलाई चिस्याउने वा तताउने सम्बन्धमा अध्ययन गरिरहेको बताएको छ ।

नासाका अनुसार धुवाँका कारण उत्तर अमेरिकाको आकाशको रङ्ग परिवर्तन भएको र न्यूजील्याण्डमा नाटकीय प्रभाव पारेको बताएको छ । न्यूजील्याण्डमा धुवाँले वायु प्रदुषण नराम्ररी बढाएको र हिमालको टुप्पोको हिउँलाई कालो बनाएको छ ।

अस्ट्रेलियाका ठूला शहरहरू सिड्नी, मेलबर्न, क्यानबेरा र एडिलेडको वायु प्रदूषण खतराको अवस्थामा र्पुयाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्