सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कानुन मन्त्री बन्दै पुर्वउपसभामुख शिवमायाँ

उपसभामुख पदबाट राजिनामा दिएर अग्निप्रसाद सापकोटालाई सभामुख हुने बाटो खोलीदिएकी शिवामाया तुम्वाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीको सपथ ग्रहण गराउने भएका छन् ।

शिवमायाको साढे ३ बजे सपथ ग्रहण गराउने कार्यक्रम रहेको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ । उनलाई कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका हुन् ।

गत पुसमा तत्कालीन उपप्रधानमन्त्री एवम् कानुन मन्त्री उपेन्द्र यादवले राजीनामा दिएपछि कानुन मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई दिइएको थियो ।

उपसभामुखबाट राजीनामा दिनुभन्दा पहिला प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई मन्त्री बनाउने वचन दिएका थिए ।

Shivamaya Tumbahamphe

मन्त्री बनाउने भएपछि दुई अध्यक्षले उनलाई उपसभामुखका हैसियतले बस्दै आएको सरकारी निवास नछाड्न समेत भनेका थिए । दुई अध्यक्षको सोही आग्रहका कारण राजीनामापछि पनि बस्दै आएको निवास बसिरहेकी थिइन् ।

आफ्नै सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले आफूमाथि तात्कालीन सभामुख कृष्ण बहादुर महराले यौन उत्पीडन गरेको आरोप लगाएपछि महराले पदबाट राजीनामा दिनुपरेको थियो ।

सभामुख र उप–सभामुखमा एकै दलका व्यक्ति बहाली हुन नपाउने संवैधानिक व्यवस्थाका कारण दुई अध्यक्षले तुम्बाहाङफेलाई उपसभामुख पदबाट राजीनामा दिएर पार्टीलाई सहयोग र्पुयाउन आग्रह गरेका थिए ।

शिवमायाले दुई अध्यक्षको आग्रह अनुसार माघ ६ गते उपसभामुखबाट राजीनामा दिएकी थिइन् । त्यतिबेला शिवमायाले सभामुखमा आफ्नो स्वभाविक दाबेदारी रहने भन्दै आफूलाई सभामुख बनाउनुपर्ने माग पनि गरेकी थिइन् ।

उनको सो मागको पक्षमा नेकपाभित्रकै केही नेताहरूले लबिङ गरेका थिए भने सामाजिक क्षेत्रबाट समेत उनलाई सभामुख बनाउन चर्को दबाब परेको थियो । पार्टी एकताको मानसिकताले गर्दा सभामुख बनाउन नसकेको भन्दै प्रचण्डले मन्त्री बनेर काम गर्न तुम्बाहाङ्फेलाई भनेका थिए ।

त्यसपछि उपसभामुखबाट राजीनामा दिएकी तुम्बाहाङ्फे लगत्तै नेकपाको केन्द्रीय सदस्यमा मनोनित भएकी थिइन् । उनी तत्कालीन नेकपाको ९ औं महाधिवेशनको निर्वाचित केन्द्रीय सदस्य समेत हुन् । २०७४ मा उपसभामुख बनेपछि पार्टी राजनीतिमा निष्क्रिय बनेकी थिइन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्