सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दार्चुलाको सिमामा भारतले बनाएको पुल हटाइयो

दार्चुलास्थित नेपाल–भारत सीमा क्षेत्रमा भारतले बनाएको काठको अस्थायी पुल हटाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ब्यास गाउँपालिका–१ को माल्पादेखि दोपखेसम्मको भागमा डोजर गुडाउने सडक, महाकाली नदी तार्न पुल र दुई काठेपुल भारतले बनाएको समाचार सार्वजनिक भएको थियो ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले भने कामका लागि भारततर्फ जाने नेपालीहरुले काठको पुल बनाएको र सो पुललाई स्थानीय प्रशासनले हटाएको बताएका छन् । पौडेलले भने–‘भारततर्फ कामका लागि जान सहज होस् भनेर नेपाली मजदुरहरूले व्यास गाउँपालिकामा अस्थायी पुल बनाउनु भएको रहेछ । स्थानीय प्रशासनले यसबारे थाहा पाएपछि हटाएको छ ।’

Daruchula Border of Nepal and India

जिल्लाको उत्तरी सीमा व्यास क्षेत्रमा भारतले नेपाल भूमिमै आएर करिब आधा किलोमिटर सडक खनेको छ । भारतले सीमा नदी महाकाली किनार हुँदै तिब्बतको सीमा लिपुलेक जोड्ने सडक निर्माण गरिरहेको छ । त्यसक्रममा भारतले नेपाली भूमिका दुई ठाउँमा सडक बनाएर निर्माण सामाग्री ढुवानी गरिरहेको छ ।

व्यास गाउँपालिका–१ र २ वडाको सिमानामा पर्ने बयलीधारबाट करिब एक किलोमिटरमाथि झण्डै १५० मिटर सडक खनेर भारततर्फ लगिएको छ भने त्यहाँबाट २५० मिटरमाथि नेपाली भूमिमै ३०० मिटर सडक खनेको स्थानीय बताउँछन् ।

तर, प्रमुख जिल्ला अधिकारी पौडेलले भने समाचारमा आएजस्तो विषय नभएको दाबी गरेका छन् । दुई देशको सीमा क्षेत्र (दशगजामा) संरचना निर्माण गर्न नपाइने अन्तराष्ट्रिय प्रचलन छ । तर, भारतले त्यसविपरीत नेपाली पक्षको उपस्थिति नभएको मौका छोपी संरचना निर्माण गर्दै आइरहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्