सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानको तोचिगीमा शेर्पाहरुले मनाए ल्होसार

हिमाली शेर्पा तथा बौद्ध धर्मावलम्वीहरुले मनाउने ग्याल्पो ल्होसार जापानको तोचिगीबासी शेर्पा तथा गैर शेर्पा नेपाली समुदायले हर्षोल्लासका साथ मनाएका छन । शेर्पा परिवार तोचिगीको आयोजनामा तोचिगीमा रहेका आम नेपाली समुदायले शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी ग्याल्पो ल्होसार मनाएका हुन ।

तोचिगीसीमा रहेको लाफा स्पोर्टस बार एण्ड ग्रिलमा आयोजना गरिएको ल्होसार बिशेष शुभकामना तथा सांस्कृतिक कार्यक्रममा तोचिगी क्षेत्रमा रहेका बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधी तथा आम समुदायको बाक्लो उपस्थिति रहेको थियो । ल्होसार बिशेष कार्यक्रममा स्थानीय कलाकारले गित तथा नृत्य प्रस्तुत गरी कार्यक्रमलाई मनोरञ्जक बनाएका थिए ।

Lhosar in Japan

शेर्पा संघ जापानका निवर्तमान अध्यक्ष गेलु शेर्पा प्रमुख अतिथी रहेको कार्यक्रममा किराँत राई यायोक्खा समाजका शिवराम राई बरिष्ठ अतिथीको रुपमा रहेका थिए । शुभकामना आदानप्रदान कार्यक्रममा प्रवासी नेपाली एकता मञ्चका केन्द्रिय सदस्य दावा शेर्पाले वक्ताका रुपमा बोलेको थिए ।

शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ल्होसारको शुभकामना दिने सबै अतिथी वक्ताहरुले देश परिस्थितिले सबै नपाली बिदेशमा पसिना बगाउन आएको भए पनि आफ्नो रितिथिती जोगाईराख्नुपर्ने धारणा रखेका थिए । वक्ताहरुले शेर्पा जातीको आफ्नो छुट्टै पहिचान र बिशेषता भएको बताउँदै ल्होसार कार्यक्रमले आम तोचिगीबासी नेपालीलाई एकिकृत गर्ने काम गरेको बताएका थिए ।

ल्होसारको अवसरमा आयोजित कार्यक्रममा शेर्पा लामा गुरु फुरी शेर्पाले विधिपुर्वक पुजाआजा गरी कार्यक्रमको सुरुवात गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य निमा शेर्पाले राखेका थिए । कार्यक्रममा शेर्पा नृत्य पनि प्रस्तुत गरिएको थियो ।

शेर्पा तथा बौद्ध धर्मावलम्वीहरुको महान चाड तथा नयाँ बर्ष च्याक फो चिवा लो २१४७ (मुसा बर्ष) देश तथा बिदेशमा बस्ने नेपालीहरुले बिभिन्न कार्यक्रम गरी मनाईरहेका छन । शेर्पा परिवार तोचिगीका संयोजक डेनी शेर्पाले ल्होसारको शुभकामना आदानप्रदान कार्यक्रमलाई भव्य बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्