दक्षिण कोरियामा कोरोना संक्रमित बिरामी बढ्दो
दक्षिण कोरियाले शुक्रवार ५९४ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि गरेको छ । यो दक्षिण कोरियामा एकैदिन भएको सबैभन्दा ठूलो सङ्ख्याको सङ्क्रमण हो । कोरिया सेन्टर्स फर डीजीज कन्ट्रोल एन्ड प्रीभेन्सनका अनुसार दक्षिण कोरियामा २,९३१ जना कोभिड–१९ का बिरामी छन् ।
अहिलेसम्म त्यहाँ १७ जनाको कोरोनाभाइरसका कारण मृ*त्यु भइसकेको छ । चीनबाहिर सबैभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमण भएको देश दक्षिण कोरिया हो । दक्षिण कोरियाका प्रायस्जसो सङ्क्रमितहरू दक्षिण–पूर्वी डाएगु सहरमा रहेका छन् ।
सिन्चोञ्जी चर्च नामक समूहको सदस्यहरूले एकअर्कामा सारेपछि त्यहाँ कोरोनाभाइरस सङ्क्रमण फैलिएको बताइन्छ । एकजना ६१ वर्षीय सदस्यलाई गतसाता सङ्क्रमण भएको पुष्टि भएको थियो र उनलाई सङ्क्रमितमध्येको पहिलो मानेर कोरियाली स्वास्थ्य अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् ।
ती महिलाले सुरुमा अस्पताल जान अस्वीकार गरेकी र कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि हुनु अगाडि चर्चका केही प्रार्थनाहरूमा सहभागी भएको बताइएको छ । उक्त चर्चले भने आफूलाई आरोप लगाएर अन्याय गरिएको बताएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्