आजबाट नेपाल एयरलाइन्स जापानको नारितामा
कोरोनाभाइरसले विश्व प्रभावित भईरहेका बेला नेपाल वायु सेवा निगमले भने कोरोना प्रभावित देश जापानको नारिता विमानस्थलमा आजबाट व्यवासायिक उडान सुरु गरेको छ । त्यो पनि बिना अर्थका, बिना कामका मान्छेलाई निगमको लाखौँ खर्च गरेर सित्तैमा ३ दिन जापान घुमाएर ।
यसै पनि दैनिक ५३ लाख रुपैयाँ घाटा बेहोर्दै आइरहेको जनताको सम्पति नेपाल एयरलाईन्समाथी सम्बन्धित मन्त्रालयका मन्त्री देखी सचिव, कर्मचारी र निगमका पदाधिकारीको मनपरीतन्त्र छर्लङ्ग भएको छ । उसो त यसअघि ओसाका उडान सुचारु गर्दा पनि निगमले यसैगरी लाखौँ खर्च गरेर जम्बो टोलीलाई जापान भ्रमण गराएको सर्वविदितै छ ।
कैयौँ मुलुकले कोरोनाको संक्रमण रोक्न अन्तराट्रिय उडान कटौति गरिरहेका बेला नेपाली अधिकारीहरु भने कोरोना भाइरसको आक्रमणलाई बेवास्ता गर्दै कोरोनाबाट प्रभावित मुलुक जापानमा उडानको नयाँ गन्तव्य विस्तारमा निस्किएका छन् । त्यो पनि फजुल खर्चका यात्रुलाई जापान घुमाउनका लागी मात्रै ।
जापान स्वयंले बिभिन्न देशहरुबाट हुने हवाई सेवा कटौति गरिरहेका बेला कोरोनाबाट प्रभावित मुलुकको सुचिमा तेस्रो स्थानमा रहेको जापानमा फजुल खर्च गर्न विमान उडाउनुले नेपाली अधिकारीको हेलचेक्र्याई र जनताको पैसामाथी खुलेआम फजुल खर्च गर्ने बानिको निरन्तरता झल्काएको छ ।
नेपाल वायुसेवा निगमको वाइड बडी विमानले सोमबारदेखि जापानको नारितामा उडान सुरु गरेको छ । यसअघि विवादीत रुपमा जापानको ओसाकामा उडान गर्दै आएकोमा रुट सारेर नारितामा उडान थालेको हो । काठमाडौँ–नारिता उडान उद्घाटनका क्रममा एयरलाइन्सले प्रधानमन्त्रीका प्रेस संयोजक, मन्त्रीका पिएदेखि लिएर सांसद, सञ्चारकर्मीको जम्बो टोलीलाई नारिता भ्रमण गराएको छ ।
जापानको ओसाकामा भईरहेको गन्तव्यलाई परिवर्तन गरेर जापानकै अर्को विमानस्थलमा सार्दा पनि निगमले के–के न युद्ध नै जिते झैँ ‘ठूलो पर्व’ का रुपमा लिएको देखिन्छ । यसका लागि निगमका उच्च अधिकारीदेखि लिएर सांसदहरु, सञ्चारकर्मीहरुको टोलीलाई लाखौँ खर्च गरेर जापान घुमाउन ल्याइएको छ ।
पछिल्लो समय कोरोनाभाइरसको संक्रमण देखिने मुलुकको सुचिमा जापान तेस्रो स्थानमा देखिएको छ । कोरोनाभाइरसको संक्रमण देखिएको र संक्रमितहरुको मृत्युसमेत हुन थालेपछि जापानले देशभरका सबै विद्यालय बन्द गर्ने घोषणा गरिसकेको छ भने केही क्षेत्रमा आपतकालसमेत घोषणा गरेको छ ।
कोरोनाभाइरसको संक्रमण भएका मुलुकमा अन्तराष्ट्रियस्तरमा धमाधम उडान कटौति भइरहेको छ । कयौँ मुलुकले चीन, दक्षिण कोरिया, जापान लगायतका मुलुकमा उडानसेवा कटौति गरे पनि नेपालले सम्वेदनशील अवस्थाका बाबजुद कोरोना प्रभावित मुलुक जापानमा व्यावसायिक उडान गर्न अग्रसर बनेको छ ।
जापानमा कोरोना संक्रमण देखा परेको र केही व्यक्तिको मृत्युसमेत भइसकेको अवस्थामा यही समय पारेर नेपाल वायुसेवा निगमले जापानमै व्यावसायिक उडान विस्तार गर्नुलाई अनौठो मानिएको छ ।
निगमकी प्रवक्ता अर्चना खड्का भने जापानबाट कुनै प्रकारको ‘ट्राभल एडभाइजरी’ जारी नभएका कारण पूर्वयोजना अनुसार नै ओसाकाबाट नारितामा उडान ‘सिफ्ट’ गरिएको बताउँछिन् ।
‘यसका लागि पाँच/सात महिनादेखि नै तयारी भइरहेको थियो,’ उनले भनिन्, ‘लामो तयारीपछि बल्ल उडान सुरु हुन लागेको हो, हामीले तयारी थाल्दा कोरोनाको प्रकोप नै देखिएको थिएन । सबै तयारी पूरा भइसकेको र जापानले पनि त्यस्तो कुनै खतरा नरहेको बताइरहेको अवस्थामा हामीले निर्धारित कार्यक्रम रद्द गर्नु उचित थिएन ।’
नारिता उडान सुरु गरेको अवसरमा निगमले जोखिम मोलेरै १५ जनालाई सम्पूर्ण खर्च व्यहोर्दै जापान ल्याएको छ । जबकि विश्व स्वास्थ्य संगठनले कोरोनाप्रति सचेत हुन अन्तराष्ट्रिय समुदायलाई आह्वान गर्दै आएको छ । सचेत हुनुको अर्थ संक्रमण देखा परेका मुलुकमा आवत जावत नगर्ने, ती मुलुकका नागरिकको आगमनमा सतर्कता अपनाउने लगायत नै हो ।
तर नेपाल वायुसेवा निगमले कोरोना संक्रमण देखिएको जापानमा गन्तव्य ‘सिफ्ट’ गर्दासमेत नेपालबाट १५ जनाको टोलीलाई सम्पूर्ण खर्च व्यहोर्दै लगेर किन जोखिम मोल्दैछ भन्ने प्रष्ट हुन सकेको छैन । निगमका अनुसार काठमाडौँ–नारिता–काठमाडौँ (दुईतर्फी) भाडामात्र प्रतिव्यक्ति ७३ हजार रुपैयाँ पर्दछ । यस अतिरिक्त निगमले लगेका १५ जना अतिथिको होटल खर्च पनि निगमले नै व्यहोर्नेछ ।
को–को आएका छन त सित्तैमा जापान घुम्न ?
निगमले प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका पिए प्रेम गुरागाईँ, सांसदहरु कृष्णप्रसाद दाहाल, गणेशकुमार पहाडी, सरलाकुमारी यादवलाई नारिता भ्रमणमा ल्याएको छ ।
निगमकै प्रवन्ध निर्देशक गणेशबहादुर चन्दको नेतृत्वमा निगमको वाणिज्य विभाग निर्देशक टङ्कनिधि दाहाल, इन्जिनियर अच्युतराज पहाडी लगायतका कर्मचारी पनि जापान भ्रमणमा आएका छन् ।
यस अतिरिक्त सञ्चारकर्मीहरु कालिका खड्का, राजेश राई, टेलिभिजन कार्यक्रम सञ्चालिका निमाकुमारी काफ्ले पनि जापान आउका छन् । यस्तै, खगेन्द्र अधिकारी, बेन्जु सुवेदी, बोधमाया यादव, प्रदेश १ का प्रदेशसभा सदस्य बलबहादुर साम्सुहाङ पनि जापान आएका छन् ।
आवश्यक तयारीबिना नै विमानको उडान
निगमको वाइडबडी विमानले यसअघि नै जापानको ओसाकामा उडान सुरु गरिसकेको थियो । ओसाका उडान बन्द गरेर नारितामा ‘सिफ्ट’ गर्न कै लागि नेपालबाट जम्बो टोली लगेर तामझाम गर्न जरुरी नै नरहेको निगम स्रोत बताउँछ ।
‘जापानमा उडानको उद्घाटन कार्यक्रम भइसकेको हो,’ स्रोतले भन्यो, ‘एउटा सहरबाट अर्को सहर सिफ्टमात्र भएको हो, यस्तो अवस्थामा फजुल खर्च गरिरहन जरुरी थिएन ।’
त्यसो त, निगमले नारिता उडान सुरु गरेको उपलक्ष्यमा कुनै औपचारिक कार्यक्रम नगरिएको जनाएको छ । औपचारिक कार्यक्रम नगर्ने निधो भइसकेको अवस्थामा १५ जनाको टोलीलाई सम्पूर्ण खर्च व्यहोर्दै किन जापान लगियो भन्ने प्रष्ट हुन सकेको छैन ।
नारितामा उडान सुरु गरे पनि निगमले उडानका लागि आवश्यक तयारीहरु औपचारिकतामा मात्र सीमित गरेको छ । नारिता विमानस्थलमा ‘म्यानुअल सिस्टम’बाट ‘ग्राउन्ड ह्यान्डलिङ’ का काम हुँदैछ । यो प्रविधि विश्वमै लोप भइसकेको छ ।
तर निगमले जापानजस्तो आधुनिक प्रविधि भएको मुलुकमा ‘ग्राउन्ड ह्यान्डलिङ’मा प्रविधिको प्रयोग गर्न सकेको त छैन नै, तालिममा समेत विफल भएकालाई जिम्मेवारी दिएर परिचालन गरेको छ । जसले गर्दा नेपाल एयरलाइन्सप्रति जापानी यात्रुको दृष्टिकोण कस्तो बन्ला ? सहजै अनुमान गर्न सकिन्छ ।
फाइनान्स म्यानेजर, एयरपोर्ट म्यानेजर र कन्ट्री म्यानेजरका लागि तीन जनालाई खटाइए पनि उनीहरु आफैँ सक्षम नभए पनि नेपालबाट सहयोगी पठाइएको स्रोत बताउँछ । एउटा दक्ष मानिसले गर्न सक्ने काममा अतिरिक्त मानिससमेत पठाउनु परेको र खाने–बस्ने लगायतका अतिरिक्त खर्च व्यहोर्नु परेका कारण निगमको व्यावसायिक नीति कति प्रभावकारी छ भन्नेमा समेत प्रश्न उब्जिएको छ ।
निगमको वाणिज्य विभाग निर्देशक पटक–पटक जापानमा
नेपाल वायुसेवा निगमका वाणिज्य विभाग निर्देशक टङ्कनिधि दाहाल पटक–पटक विदेश भ्रमण जाने गरेका छ्न । उनको विदेश भ्रमणको तालिका हेर्ने हो भने निगमले अन्तराष्ट्रिय व्यावसायिक उडानमा निकै ठूलो छलाङ मार्न लागेको हो कि भन्ने अनुभूति हुन्छ । तर निगमको अवस्था सुध्रन सकेको छैन ।
यद्यपि निर्देशक दाहालको आर्थिक अवस्थामा भने निकै सुधार हुँदै गइरहेको छ । उनको विदेश भ्रमणका क्रममा दैनिक दुई सय डलर भत्ता आउने गर्दछ । प्रति दिन खान र बस्नका लागि एक सय डलर खर्च गरे पनि प्रतिदिन एक सय डलर जोगिन्छ । औसत रुपमा सरदर दुई महिनामा एक पटक उनी विदेश भ्रमणमा जाने गरेका छन् ।
उनी हालै जापानको नारिताबाट फर्किएका थिए । तर एक साता मै उनी फेरि नारिता आउका छन् । निगमको प्रवन्ध निर्देशक आफैँ नारिता उडान सुरु भएको अवसरमा जापान आएको अवस्थामा दाहाल किन आए र त्यसको उपलब्धि के हो भन्नेबारे निगमकै कर्मचारीहरु बुझ्न सकिरहेका छैनन् । भनिन्छ, यस्ता प्रवृत्तिकै कारण निगम आर्थिक रुपमा कहिल्यै माथि उठ्न नसकेको हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्