डा.प्रेमको नेतृत्वमा ओलिको मिर्गौला प्रत्यारोपण
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्ने भएको छ । युरोलोजी डिपार्टमेण्टका नियमित प्रत्यारोपण गर्ने शिक्षण अस्पतालकै अन्य चार सर्जन पनि टोलीमा सहभागी हुनेछन् ।
बुधबार हुने प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार नै अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री ओलीको प्रत्यारोपणमा भारतस्थित अपोलो अस्पतालका एक जना डाक्टर पनि संलग्न हुनेछन् । जसले १२ बर्ष पहिले ओलीको मिर्गौला प्रत्यारोपण टिममा काम गरेका थिए ।
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा भारतिय डाक्टर आउनेबारे प्रस्ट पार्दै डाक्टर ज्ञवालीले भने–‘हामीले विदेशी डाक्टर बोलाए पनि उहाँहरुले प्रत्यारोपण गर्ने होइन, केही भवितव्य आएमा पूर्वतयारीको लागि स्ट्याण्ड बाई राख्ने हो ।’

डाक्टर ज्ञवालीका अनुसार मिर्गौला प्रत्यारोपण सुरु गरेको ३ देखि ५ घण्टामा प्रत्यारोपण सकिन्छ । प्रत्यारोपणपछि बिरामीको अवस्था हेरेर कम्तीमा ४–५ दिन अस्पतालमा राखिन्छ ।
आइतबार माले महासचिव सीपी मैनालीलाई भेट्न ग्राण्डी अस्पताल पुगेका प्रधानमन्त्री ओलीले ‘कोलोनोस्कोपी’ गरेका थिए । चिकित्सकहरुका अनुसार मलद्वारबाट पाइप छिराएर पेट सफा गर्ने र आन्तरिक स्थिति थाहा पाउने प्रविधि हो कोलोनोस्कोपी ।
प्रत्यारोपण गर्नुपूर्व कोलोनोस्कोपी गर्दा आन्द्राको अवस्था ठीक छ या छैन भनेर जाँच्नको लागि कोलोनोस्कोपी गरिन्छ । प्रधानमन्त्रीलाई कोलोनोस्कोपी गर्दा आन्द्रामा कुनै समस्या नदेखिएको स्रोतले अस्पताल स्रोतले बताएको छ ।
यसअघि प्रधानमन्त्री ओलीको मुटुको अवस्था हेर्न मनमोहन कार्डियो सेन्टरमा एन्जियोग्राफी गरिएको थियो । एन्जियोग्राफी र कोलोनोस्कोपीको रिपोर्ट ‘राम्रो’ आएकाले प्रत्यारोपण गर्न लागिएको हो ।
१२ वर्षअघि पहिलो प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले गत कात्तिक महिनादेखि नियमित डायलाइसिस गराउँदै आएका छन् । उपचारका लागि गत भदौ ५ गते सिंगापुर गएका ओली ‘प्लाज्माफेरेसिस’ गरेर १५ दिनपछि स्वदेश फर्किएका थिए ।
तर, ‘प्लाज्माफेरेसिस’ गरेपछि पनि उनको स्वास्थ्यमा सुधार आएन । सोही कारण चिकित्सकहरुले दोस्रो प्रत्यारोपणको विकल्प नभएको सुझाएका थिए ।








फेसबुकबाट कमेन्ट गर्नुहोस्