चीन भन्दा इटलीमा कोरोनाको डरलाग्दो अवस्था
कोरोना (कोभिड–१९) को उद्गमस्थल मानिने चीनमा नियन्त्रण हुँदै गईरहेका बोल उता इटलीमा चीनमा भन्दा बढी मानिसको ज्यान गएको छ । चीनमा हालसम्म ३ हजार २ सय ४९ जना मानिसको मृत्यु भएको तथ्यांक छ भने इटलीमा ज्यान गुमाउनेको संख्या ३ हजार ४ सय ५ पुगेको छ ।
बिहीबार थप ४ सय २७ को ज्यान गएसँगै इटलीमा चीनभन्दा १५७ बढीको ज्यान गएको हो । कुल संक्रमितको संख्या भने इटलीमा भन्दा अँझै चीनमा नै बढी रहेको छ । चीनमा ८० हजार ९ सय ६७ र इटलीमा ४१ हजार ३५ व्यक्तिमा कोरोनाको लक्षण भेटिएको तथ्यांक छ ।

तर, संक्रमण र मृत्युदर दुवै इटलीमा बढी छ । बिहीबार मात्रै इटलीमा ५ हजार ३ सय ३२ कोरोनाको नयाँ बिरामी भेटिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
चीनमा भने बितेको २४ घण्टामा ३ जनाको मात्रै ज्यान गएको चिनिँया सञ्चारमाध्यमले जनाएका छन् । चीनले बताए अनुसार देशभर कोरोनाका ३९ जना नयाँ बिरामी भेटिएका छन् ।
विश्वभर महामारीको रूप लिएको कोरोनाले यो समाचार तयार पार्दासम्म १० हजार ४८ मानिसको ज्यान गएको छ । मृत्यु हुने र संक्रमित हुनेको संख्या घण्टैपिच्छे बढिरहेको छ । नेपालमा भने अहिलेसम्म संक्रमित भेटिएको पुष्टि भएको छैन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्