कोरोनाले घर फर्कनेको लर्को, टिकट कालोबजारी
कोरोना (कोभिड–१९)को सम्भावित संक्रमणलाई रोक्न स्कुल र कलेज बन्द भएसँगै काठमाडौंबाट बाहिरने यात्रुको चाप अत्यधिक बढेको छ । काठमाडौंका मुख्य बसपार्क र टिकट काउन्टरहरुमा दशैँ तिहारमा झैँ यात्रुको भीड निकै बाक्लो भएको छ ।
बालबालिकाको परीक्षा सकिएसँगै कोरोना भाइरसको त्रासका कारण गाउँ फर्किन लागेकाहरुलाई टिकट नपाएर हैरानी भएको छ । टिकट कालोबजारी हुन थालेपछि यात्रुले दोब्बरसम्म भाडा तिर्नुपरेको गुनासो गरेका छन् । कतिपयले घर फर्किन सवारी नै नपाएर हैरानी भोगिरहेका छन् ।
बिहीबार मात्रै नयाँ बसपार्कबाट ९ हजारले टिकट काटेका थिए । शुक्रबार यात्रुको संख्या अँझ धेरै बढेको बसपार्क व्यवस्थापनको जिम्मा लिएको ल्होत्से बहुद्देश्यीय प्रालिले जनाएको छ ।

चाप बढेसँगै यात्रुबाट बढी भाडा असुल्ने क्रम पनि सुरु भएको हो । बस र सिट नभएको बहाना बनाउँदै भाडा बढी असुल्ने क्रम सुरु भएको हो । दशैंसहित यात्रुको चाप भएका समयमा यातायात व्यवसायीले विगतमा पनि यसैगरी बढी भाडा असुल्ने गरेका थिए ।
विहानैदेखि विभिन्न टिकट काउन्टरमा पुगेका उपभोक्ता अधिकारकर्मी रामबहादुर थापा व्यवसायीले भीड बढेको मौका छोपेर यात्रुलाई ठग्न सुरु गरेको बताउँछन् । उनले भने–‘यस्तो संकटको समयमा पनि छोडेनन् । अनुगमन गर्न न त यातायात विभागका प्रतिनिधि छन्, न ट्राफिकले अनुगमन गरेको छ । यात्रुलाई पनि जति तिरेर भएपनि जान्छु भन्ने भएको छ ।’
यातायात व्यवसायीहरु भने केही दिनदेखि यात्रु घटेर धेरै बस ग्यारेजमा थन्किएकाले समस्या भएको बताउँछन् । उपत्यका बाहिरका ग्यारेजमा थन्किएका बस काठमाडौं आउन सुरु गरेकाले शनिबारसम्म टिकट नपाउने अवस्था सहज बन्ने उनीहरुको दावी छ ।
नयाँ बसपार्क व्यवस्थापनले पनि पश्चिमी रुटमा बस नपाउने समस्या रहेको बताएको छ । त्यसैकारण बहिरबाट बस आएकै दिनमा यात्रु लिएर फर्काउन सुरु गरिएको र यसले यात्रुलाई सहजै गन्तब्यमा पुग्ने सहज वातावरण बन्ने विश्वास बसपार्क व्यवस्थापनको छ ।
चाप बढेपछि काठमाडौंमा चल्ने बस पनि रिजर्भ गरेर यात्रु ओसार्न सुरु गरेका छन् । सरकारले वैशाख ३ गतेसम्म रुट इजाजत खुला गरेको छ । यसरी रिजर्भमा जाने बसहरुले पनि यात्रुलाई अप्ठेरोमा पारेर चर्को भाडा असुलिरहेका छन् ।
कतिपय रुटमा पर्याप्त बसको अभाव भएपछि यात्रु उभिएरै जान थालेका छन् । क्याबिनको सिटमा पनि महंगो भाडा लिने मात्रै हैन, मुडामा बसालेर पनि यात्रु ओसर्ने क्रम सुरु भएको छ । यसले गर्दा संक्रमण फैलने जोखिम पनि उच्च भएको छ ।
गौशाला, सुन्धारा, पुरानो बसपार्क, कोटेश्वर, कलंकी, चाबहिल, बालाजु, लगायतका क्षेत्रमा रहेका बस काउन्टरहरुले पनि यात्रुसँग बढी भाडा असुलिरहेका भन्दै उपभोक्ता अधिकारकर्मी थालो अनुगमन तीव्र बनाउन र काहरवाही थाल्न सरकारसँग आग्रह गरेका छन् । बसहरुमा मात्रै हैन, बल्खु, कोटेश्वर, कलंकी र बालाजुका सुमोहरुले पनि यात्रुसँग बढी भाडा असुल्न थालेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्