सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपाल एयलाईन्सका जापान लगायतका उडान स्थगित

नेपाल एयरलाइन्सले चैत ७ गते रातिबाट लागु हुनेगरी जापानको नारिता र यूएईको दुवईमा गर्दै आएको नियमित उडान स्थगित गरेको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलको अध्यक्षतामा बुधबार बसेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णय अनुसार ती दुई गन्तव्यको नियमित उडान चैत ३० गतेसम्मका लागि स्थगित गरिएको एयरलाइन्सले जानकारी दिएको छ ।

चैत ७ गते र सोभन्दा पछिका उडानका टिकट खरिद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराउने एयरलाइन्सले जानकारी दिएको छ ।

Nepal Airlines

त्यसैगरी नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले भारतका सबै शहरमा गरिरहेको उडान रोकेको छ । अब भारतको नयाँदिल्ली, मुम्बई र बैंगलोरमा गर्दै आएको नियमित उडान चैत्र ९ (मार्च २२, २०२०) गतेदेखि लागु हुने गरी स्थगित गरेको छ ।

यसअघि भारतले २२ तारीखबाट सबै अन्तराष्ट्रिय वायुसेवालाई भारतमा प्रवेश रोक्ने निर्णय गरेको थियो । सोही अनुसार नेपाल एयरलाइन्सले भारतीय शहरमा गरिरहेको उडान रोक्ने निर्णय लिएको हो ।

डाइरेक्टोरेट जनरल अफ सिभिल एभिएसन, भारतद्धारा कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी गरिएको सूचना अनुसार ती गन्तव्यको नियमित उडान तत्कालका लागि चैत्र १६ (मार्च २९, २०२०) गतेसम्मका लागि स्थगित गरिएको कम्पनीले जनाएको छ । चैत्र ९ गतेदेखि उडान स्थगित गरिएको अवधिभरका लागि टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने भएको छ ।

यसअघि नेपाल एयरलाइन्सले दिल्ली उडान घटाएको थियो । पछिल्लो निर्णयसँगै निगमका अधिकांश उडान रद्द भएका छन् । यसले मूख्य सिजनमै यो कम्पनीले व्यापार गुमाउनु परेको हो । निगमले जापानको नारिता, मलेसियाको क्वालालाम्पुर, थाइल्याण्डको बैंकक, यूएइको दुबई, कतारको दोहामा गर्दै आएको उडान अनिश्चितकालका लागि बन्द गरिसकेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्