कोरोनाबारे हल्ला फिजाउने मगर नियन्त्रणमा
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले मृत्यु भएको भन्दै अडियो बनाएर झुटो प्रचार गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले शनिबार दिउँसो पक्राउ गरेको हो ।
उनले कोरोनाका कारण एक नेपालीको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको भन्दै सामाजिक सञ्जालमा अडियो सन्देश पोष्ट गरेका छन् । उनले पोष्ट गरेको अडियोमा नर्भिक अस्पतालको नाम लिएका छन् । नर्भिक अस्पतालले समेत विज्ञप्ती निकालेर अडियो झुठो भएको प्रस्ट पारिसकेको छ ।
कोरोना भाइरसको महामारी विश्वभर फैलिएको छ भने नेपालमा पनि यसको उच्च जोखिममा छ । तर कोरोना संक्रमणको पुष्टि भएको, मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउनेहरु पनि सक्रिय भएको पाइएको छ ।
यस्ता भ्रामक र गलत प्रचारबारे नेपाल प्रहरीको ध्यानाकर्षण भएको र दोषीलाई कारबाही गरिने प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले बताएका छन् । साइबर ब्युुरोका एसएसपी नविन्द अर्यालले पनि मगरमाथि विस्तृत अनुसन्धान थालिएको बताएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्