सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

टेकु अस्पताल खालि गरिने, बिरामी अन्तै पठाईँदै

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोभिड–१९ सँग सम्बन्धित बिरामीको मात्रै उपचार गर्ने भएको छ । अस्पतालले ओपीडी सेवा बन्द गरेको छ । यसअघि अस्पतालले क्षयरोग, एचआईभी, झाडापखाला लागेका र कुकुरले टोकेका बिरामीको समेत उपचार गर्ने गरेको थियो ।

अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीका अनुसार अब एचआईभी संक्रमित र क्षयरोगका बिरामीले वीर र पाटन अस्पतालबाट उपचार पाउनेछन् भने कुकुरले टोकेको बिरामीको प्रदेश स्वास्थ्य कार्यालय टेकुमा उपचार हुनेछ ।

‘कुकुरले टोकेका बिरामी हेर्न स्वास्थ्य कार्यालयमा आफ्नै स्वास्थ्यकर्मी खटाउँछौं, तालिम पनि दिन्छौं,’ डा. राजभण्डारीले भने, ‘यसका लागि आवश्यक खर्चसमेत व्यवस्थापन भइसकेको छ ।’

डा. राजभण्डारीका अनुसार कुकुरले टोकेको बिरामी दिनमा तीन सय हाराहारी टेकुमा आउँथे । ‘अन्य सरुवा रोगका तीन सय बिरामीले यहाँबाट नियमित औषधि लिइरहेका थिए,’ उनले भने, ‘अब स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा नियमित औषधि खाने बिरामीलाई २ महिनाका लागि एकैचोटि औषधि दिएर पठाइन्छ ।’

Teku Hospital

उनका अनुसार नियमित औषधि खाने ती बिरामीको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ र अस्पताल नै बोलाएर औषधि खुवाउँदा संक्रमण सर्ने बढी जोखिम रहन्छ । अस्पताललाई कोभिडको उपचारमा मात्रै केन्द्रित गर्न पूर्वाधारसमेत थपिएको छ ।

विशेषज्ञलाई जटिल बिरामी मात्रै हेर्ने जिम्मा दिइएको छ भने सामान्य रुघाखोकीका बिरामी हेर्न ज्वरो क्लिनिक व्यवस्था गरिएको छ । नर्स र पारामेडिक्सले क्लिनिकबाट बिरामी हेर्छन् र कोभिडको लक्षण देखापरे विशेषज्ञलाई रिफर गर्छन् । स्वास्थ्यकर्मीले बिरामीलाई घरमै कसरी आइसोलेसन भएर बस्ने, आफू र अरूलाई कसरी बचाउने भनेर सिकाइरहेका छन् ।

डा. राजभण्डारीका अनुसार अस्पतालमा २० बेडको आईसीयू राख्ने तयारी भइरहेको छ । निक साइमन संस्थाको सहयोगमा अहिले अस्पतालमा १० वटा मोबाइल र एक थान पीपीई (पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट) भेन्टिलेटरको व्यवस्था गरिएको छ । ती भेन्टिलेटरमा अक्सिजन जोडेर सञ्चालन गर्ने तयारी भइरहेको छ ।

अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी गरी थप ४० जना तीन महिने करारमा थपिँदैछ । ‘जनशक्तिको माग स्वास्थ्य मन्त्रालयले स्वीकृत गरिसकेको छ,’ अस्पतालका निर्देशक डा. राजभण्डारीले भने, ‘आइसोलेसन र आईसीयूमा काम गर्ने श्वासप्रश्वास विशेषज्ञ, बेहोस बनाउने चिकित्सक (एनेस्थेसियोलोजिस्ट) र नर्सिङ स्टाफ मागेका छौं ।’ उनले जनशक्ति आउनासाथ तालिम दिइने बताए ।

अस्पतालका विशेषज्ञलाई २४ घण्टा खटाइने भएको छ । उनीहरूका लागि अस्पतालमै बस्ने व्यवस्था हुनेछ । विशेष गरी आइसोलेसन र आईसीयूमा खटिने स्वास्थ्यकर्मी र चिकित्सक अस्पतालमै बस्नुपर्ने निर्देशक डा. राजभण्डारीले बताए । उनले भने–‘अस्पतालमा बस्नैपर्छ भन्ने बाध्यकारी नियम त छैन तर घर जाँदा परिवार र छिमेकलाई जोखिम छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्