सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कानपुर रेल दुर्घटनाका मास्टर माईन्ड नेपाली

बिहार प्रहरीले गत नोभेम्बर २० मा कानपुरको पुखराया नजिक भएको रेल दुर्घटनामा आइआएसइको योजना रहेको दाबी सार्बजनिक गरेको छ । मोतिहारीका एसपी जितेन्द्र राणाका अनुसार घटनामा पक्राउ परेका तीन आरोपीले यसको खुलासा गरेका हुन् ।

सोधपुछको क्रममा कानपुर रेल दुर्घटनाका मास्टर माइन्ड दुबईमा रहेका नेपालका व्यवसायी शम्शुल होदा भएको खुल्न आएको छ । होदाले नै यस योजनाको फिडिङ गरेको पाइएको हो । होदाले आइएसआइ र घटना घटाउनेहरुबीच सूचना आदनप्रदान गर्ने गरेको पाईएको छ ।

२० नोभेम्बरमा भएको कानपुर ट्रेन दुर्घटनामा पटना–इन्दौर एक्सप्रेसको रेल लिकबाट उत्रिएको थियो । दुर्घटनामा १५० भन्दा बढीको मृत्यु भएको थियो । आरोपीले दिएको बयान अनुसार रेलको लिक बमले उडाएका कारण रेल दुर्घटनामा परेको थियो ।

एसपी राणाका अनुसार मोती पासवान समेत तीन अरोपीले कानपुर रेल दुर्घटनाबारे ठूलो खुलासा गरेका हुन । एसपीका अनुसार ‘शम्शुले नेपालका बाबा भनिने बृजकिशोर गिरीको मद्दतबाट कानपुर रेल दुर्घटनाको योजना बुनेका थिए ।

आरोपी मोती पासवानले दिएको बयान अनुसार–‘यस योजनामा व्यवसायी शम्शुलको भतिजा जियाउल हक र अर्को एक व्यक्ति पनि सामेल छन् । यसका साथै राकेश यादव, गजेन्द्र यादव र बृजकिशोर गिरी र अन्य दुई व्यक्ति पनि पुगेका थिए ।

यही समूहले चम्पारणको घोडासहनमा अक्टुबरमा बम राखेर यात्रुबाहक रेल उडाउने प्रयास गरेको थियो । यस मामिलामा हालसम्म आठ जनालाई पक्राउ गरिएको छ । मोती पासवान, मुकेश यादव, उमाशंकर पटेललाई घोडासहनबाट पक्राउ गरिएको हो ।

बृजकिशोर, मुजाहिर अंसारी र शम्भु गिरी नेपालबाट पक्राउ गरिएको हो । जुबेर र जियाउललाई दिल्लीबाट पक्राउ गरिएको थियो । गजेन्द्र शर्मा र राकेश यादवको खोजी जारी छ ।

यसरी भयो योजनाको खुलासा

घोडासहनबाट २५ डिसेम्बरबाट अरुण राम र दीपक राम गायब भए । २८ डिसेम्बरमा नेपालको जंगलमा उनीहरुको हत्या भयो । यसको जाँच गर्दा मुजाहिर अंसारी पक्राउ परे । मुजाहिरले प्रहरीलाई रक्सौल–दरभंगा रेल ट्रयाकमा घोडासहन नजिकै बम राखेर ट्रेन उडाउने योजनाको खुलासा गरे ।

शम्शुल होदाले यसको योजना बनाएका थिए । जसमा बृजकिशोर, उनको साला शम्भु र मुजाहिर पनि मिलेका थिए । ट्रयाक उडाउन शम्शुलले अरुण र दीपकलाइ २०–२० लाख र स्कर्पियोको वाचा गरेका थिए । शम्शुलले बृजकिशोरको माध्यमबाट ३–३ लाख एड्भान्स पनि पठाएका थिए ।

दीप र अरुण ट्रयाकमा बम राखे पनि तार जोड्न बिर्सिए । यसरी प्लान फेल भयो । दुवैले पैसा फिर्ता नगरे पछि उनको हत्या गरियो । मोती पासवानको गिरफ्तारी र खुलासापछि भारतको गुप्तचर संस्थाको टोली मोतिहारी पुगेको छ ।

त्यस्तै भारतको विभिन्न सुरक्षा एजेन्सीका टोलीहरुले यसको छानविन गरिरहेका छन् । केही दिनमा यसबारे ठूलो खुलासा हुने बताइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्