सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भारत र चीनसंगका सबै नाका एक हप्ता बन्द

कोरोना भाइरसले विश्वव्यापि महामारीको रुप लिन थालेपछी यसलाई नेपालमा छिर्न नदिन र सम्भावित संक्रमण रोक्न सरकारले भारत र चीनसँगको सबै नाका बन्द गर्ने निर्णय गरेको छ ।

सरकारले सोमबार बिहान १० बजेदेखि एक हप्तासम्म भारत र चीनसँगको सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिमलाई ख्याल गर्दै आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देश चीन र भारतको सीमा नाकाबाट चैत १० बिहान १० देखि १६ गतेसम्म यात्रु आवागमन स्थगित गर्ने निर्णय गरेको हो ।

भारतसँग ३९ मोटरेबल, १ सय २५ सामान्य नाका, चीनसँग २ मोटरेबल र अन्य ४ वटा नाका छन् । यस्तै कोभिड १९ को महामारीका रोकथामका लागि चिकित्साकर्मीले उपयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण, मास्क, थर्मोमिटर, भेन्टिलेटर, मनिटर लगायत सामग्री किन्न ५० करोडको केन्द्रीय कोष खडा गर्ने निर्णय सरकारले गरेको छ ।

Cabinate Meeting

अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले निर्णयबारे जानकारी दिँदै उक्त कोषका लागि सबै मन्त्रीले १–१ महिनाको पारिश्रमिक दिने निर्णय पनि गरिएको बताएका छन् ।

यस्तै सशस्त्र प्रहरीको बलम्बुस्थित एपीएफ अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि विकास गर्ने र अस्पताल उपचारमा सेना, प्रहरी र सशस्त्रका चिकित्सक टोली खटाउने निर्णय गरिएको छ ।

त्यस्तै चिकित्साका लागि आवश्यक औषधि, उपकरण, सुरक्षाका सामग्रीका लागि सहयोगी मित्रराष्ट्र दातृ निकायहरुसँग सहकार्य गरी परराष्ट्र, स्वास्थ्य मन्त्रालयको सहयोगमा अर्थमन्त्रालयले पहल गर्ने निर्णय भएको उनले जानकारी दिएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्