सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

काठमाण्डौमा १९ बर्षिया युवतीलाई कारोना देखियो

फ्रान्सबाट आएकी कोरोना भाइरसबाट संक्रमित १९ वर्षीया युवतीको दोस्रो पटक पनि परीक्षण गरिने भएको छ । संक्रमित युवती काठमाडौं उपत्यकाकी स्थायी बासिन्दा हुन् ।

टेकु अस्पतालका अनुसार उक्त युवतीको दोस्रो परीक्षण हुने भएको हो । संक्रमणको पूर्ण पुष्टि हुन दोस्रो पटक पनि परीक्षण गर्ने गरिन्छ । कहिलेकाहीँ पहिलो परीक्षणमा ‘पोजेटिभ’ देखिए पनि दोस्रोमा नेगेटिभ देखिने गर्छ । नेगेटिभ देखिने भनेको संक्रमण छैन भनेको हो ।

सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले ती युवतीलाई कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् । गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी ती युवती ‘सेल्फ क्वारेन्टाइनमा’ बसेकी थिइन् ।

सेल्फ क्वारेन्टाइनमा बसिरहँदा सामान्य सुख्खा खोकी बढेपछि उनले शुक्रबार टेकु अस्पतालमा सम्पर्क गरेकी थिइन । त्यसपछि उनलाई अस्पताल आउन चिकित्सकले सुझाएका थिए ।

Corona Virus

शुक्रबार अस्पताल पुगेकी उनलाई आइसोलेसनमा भर्ना गरियो । ‘हामीले उहाँको स्वाब त्यहीँ दिन प्रयोगशालामा परीक्षणका लागि पठायौं,’ अस्पतालका निर्देशक सागरराज भण्डारीले भने ।

आइतबार आएको नतिजामा युवतीमा कोरोनाको संक्रमण देखिएको हो । निर्देशक भण्डारीले अहिले बिरामीलाई आइसोलेसनमा राखेर उपचार गरिरहेको जानकारी दिए । उनले बिरामीलाई छुट्टै कोठामा राखिएको बताए ।

उनले भने–‘उहाँमा अहिले थप लक्षण देखिएको छैन । अवस्था सामान्य छ । तर १४ दिन निगरानी राख्छौं ।’ दोस्रो परीक्षणमा नतिजा नेगेटिभ देखिए बिरामीलाई डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।

ती युवतीमा कोरोना भाइरस देखिएपछि उनको परिवारलाई पनि सरकारले क्वारेन्टाइनमा बस्न लगाएको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले उनी आएको प्लेनमा सँगै आएका अरू यात्रुको खोजी भइरहेको जानकारी दिएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्