अष्ट्रेलियाको ग्याङफाइटमा १ नेपाली विद्यार्थीको मृत्यु
सिड्नीको हर्षभिलमा नेपाली युवाहरुबीच भएको ग्याङफाइटमा घाइते भएका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । ललितपुरका ति युवकको कोग्राह हस्पिटलमा उपचारको क्रममा निधन भएको उनका नजिकका नातेदारले पुष्टि गरेका छन् ।
दुई दिनअघि सिड्नीको हर्षभिलको पबमा दुई विद्यार्थीहरूको समूहबीच भेट भएर भनाभन भएपछि सो झगडा सुरू भएको थियो । पबमा दुई पक्षबीच भेट भएपछि केही विवाद भएको र पबको सुरक्षाकर्मीले पाँच जनाको एक समूहलाई पबबाट बाहिर निकालेको थियो ।
पछि सोही समूहले बाहिर कुरेर बसेको र त्यसपछि भएको विवादमा ग्याङ फाईट हुँदा ललितपुर इमाडोल घर भएका अमित कार्की नाम गरेका युवक गम्भीर घाइते भएका थिए ।

पबभित्रको सानो झगडालाई लिएर बाहिर बसेको समूहले आक्रामक व्यवहार देखाउँदा अमित लगायतको टोली भागेको र लखेटने क्रममा ती युवकको टाउकोमा गम्भीर चोट लाग्न पुगेको थियो ।
उनलाई प्रहरीले गम्भीर अवस्थामा सडकबाट फेला पारेपछि सेन्ट जोर्ज हस्पिटल र्पुयाएको थियो । झैझगडामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको र केहीलाई सोधपुछ गरी छाडेको छ ।
पवबाट निकालिएका समूहको एक व्यक्ति पनि अस्पतालामा उपचाररत छन् । प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान भइरहेकाले अहिले नै केही भन्ने अवस्था नरहेको जनाएको छ ।
झैझगडामा सामेल सबै उच्च अध्ययन गर्न अस्ट्रेलिया गएका विद्यार्थी हुन् । केही स्थानीय फुटबल क्लबमा आवद्ध खेलाडी समेत छन् ।
उच्च अध्ययन गर्न सात समुद्र पारी आएका नेपाली विद्यार्थीले यस्तो रोगको महामारीमा पनि आपसी झैझगडामा उत्रनु नराम्रो विषय भएको अष्ट्रेलियाका नेपाली समुदायको भनाई छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्