सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एक बर्ष सर्ने भयो टोक्यो आलिम्पिक–२०२०

धेरैले निर्विकल्प देखेको ओलिम्पिक्स सार्ने विषय अब औपचारिक रुपमै सर्ने भएको छ । कोरोनाभाइरस महामारीका बीच सन् २०२० को टोक्यो ओलिम्पिक्स एक वर्ष पर सारिएको प्रतियोगिताका आयोजकहरूले जनाएका छन् ।

एक वर्षपछाडि सार्न जापानले गरेको प्रस्तावलाई अन्तराष्ट्रिय ओलिम्पिक कमिटि (आइओसी)का प्रमुखले सहमति जनाएका हुन् । प्रधानमन्त्री सिन्जो आबेले नयाँ समयसीमाबारे स्पष्ट केही नबताए पनि ढिलोमा त्यो, सन् २०२१ को गर्मीयामभित्र आयोजना हुने बताएका छन् ।

Olymipc 2020

यद्यपि त्यसलाई टोक्यो २०२० नै भनिने र उक्त आयोजना कोरोनाभाइरसमाथिको विजय उत्सवको रूपमा हुने आबेले बताएका छन् । बीबीसीका खेल संवाददाता एलेक्स क्याप्स्टिक भन्छन–‘ओलिम्पिक प्रतियोगिता सारिएको यो पहिलो पटक हो । युद्धका बेला ओलिम्पिक्स रद्द गरिएको थियो तर कहिल्यै पर सारिएको थिएन । तर त्यसको व्यवस्थापकीय चुनौती निकै ठूलो छ । प्रतियोगिता सार्न त्यति सजिलो छैन ।’

ओलिम्पिक कमिटिले आगामी २४ घण्टाभित्र औपचारिक रूपमा प्रतियोगिता सार्ने यस निर्णय अनुमोदन गर्ने ठानिएको छ । यसअघि न्यूजिल्याण्ड र अमेरिका समेतले ब्रिटेन, क्यानाडा र अस्ट्रेलियालाई पछ्याउँदै सन् २०२० को टोक्यो ओलिम्पिक्सको मिति सार्न माग गर्ने कित्तामा उभिएको जनाएका थिए ।

यसअघि आइओसीले प्रतियोगिता रद्द गर्ने आफ्नो एजेन्डा नभए पनि त्यसलाई सानो स्वरूपमा लैजान सकिने विकल्पबारे भने सोचिने जनाएको थियो । टोक्यो ओलिम्पिक्स जुलाई महिनामा आयोजना हुने तालिका थियो ।

बीबीसी नेपालीबाट साभार

फेसबुकबाट कमेन्ट गर्नुहोस्