सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपालमा अर्को एक जनामा कोरोना पुष्टि भयो

नेपालमा थप एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक अधिकारीले पुष्टि गरेका छन् । योसहित नेपालमा भेटिएका संक्रमित व्यक्तिको सङ्ख्या तीन पुगेको छ । तर तीमध्ये एक जना निको भइसकेका छन् ।

प्रयोगशालामा नमुना परीक्षण गर्दा कोरोनाभाइरस भएको पुष्टि भएपछि ती संक्रमित व्यक्तिलाई उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अलग्ग राखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका राजेशकुमार गुप्ताका अनुसार ३०–३१ वर्षका ती बिरामी केही दिनअघि एक खाडी मुलुकबाट नेपाल आएका हुन् । विभिन्न लक्षणसहित अस्पतालमा भर्ना भएका ती युवकबाट सङ्कलित नमुनाको पीसीआर विधिद्वारा परीक्षण गरिएको थियो ।

Teku Hospital

मङ्गलवार राति त्यसको परिणाम आएको राजेशकुमार गुप्ताले बताएका छन् । यसअघि संक्रमण भएको पुष्टि भएका दुई जना पनि विदेशबाट फर्किएका व्यक्ति हुन् ।

फेब्रुअरी महिनामा वुहानबाट नेपाल फर्किएका एक विद्यार्थीमा पहिलो पटक संक्रमन देखिएको थियो । अहिले उनी स्वस्थ भइसकेका छन् । गत साता फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी एक विद्यार्थीमा केही दिनअघि संक्रमण भएको पुष्टि भएको थियो ।

उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलामा अहिले उपचार भइरहेको छ । दोस्रो व्यक्तिमा कोरोनाभाइरस भएको पुष्टि भएपछि समण फैलिन नदिन सरकारले मङ्गलवारदेखि एक साताका लागि देशभरि हिँडडुलमा प्रतिबन्ध लगाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्