सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

अष्ट्रेलियामा कोरोनालाई जितेकी नेपाली नर्स सञ्जिता

अस्ट्रेलियामा कोरोना भाइरसलाई जितेकी नेपाली नर्स सञ्जिता न्यौपानेले उच्च मनोबलका साथ स्वास्थ्य सतर्कता अपनाएकाले आफूले कोरोना भाइरसलाई पराजित गर्न सफल भएको बताएकी छिन् ।

कोरोना पराजित गरेपछि इस्टरको लामो बिदा पनि काम र आफ्नो परिवारका साथ खुशी साथ बिताएकी सञ्जिताले भनेकी छिन्–‘अस्ट्रेलियामा भएका मेरा श्रीमानले छोरीहरु र मेरो राम्रो हेरचाह गर्नुभयो र नेपालबाट मेरा आमा–बुवा तथा साथीहरुले मलाई निरन्तर सम्पर्क गरेर मनोबल उकास्नु भयो । म सबैप्रति आभारी छु ।’

भिक्टोरिया राज्यको नर्दन अस्पताल इपिंगका रजिस्टर्ड नर्सका रुपमा कार्यरत सञ्जिता सपरिवार मार्च २२ मा अमेरिकाको न्यूयोर्कबाट मेलबर्न आइपुगेकी थिइन् । चौबिस घण्टाको हवाई यात्रा गरी मेलबर्न आइपुगेकी उनलाई भोलिपल्ट मार्च २३ मा केही अप्ठेरो महसुस भयो । उनको सपरिवारले स्वास्थ्य परीक्षण गराए ।

मार्च २६ मा परिवारका अरु सबै सदस्यको स्वास्थ्य परीक्षणको रिपोर्ट आयो, तर उनको आएन । सञ्जिताले भनिन्–‘मेरो परिवारका सदस्यहरुको रिपोर्टमा कोभिड १९ को संक्रमण थिएन । तर मेरो रिपोर्ट भने ढिलो भयो, मनमा चिसो पस्यो ।

उनले थपिन्–‘तर मलाई पछि स्वास्थ्य बिभाग र अस्पतालबाट सम्पर्क गरेर कोभिड १९ को संक्रमण भएको जानकारी दिइयो । तर, नआत्तिन र परिवारबाट आइसोलेसनमा रहन भनियो ।’

स्वास्थ्य बिभागले अप्ठेरो भएमा आइसोलेसनको व्यवस्थापन सरकारले गरिदिने बताए पनि आफ्नो घरमा पर्याप्त स्थान भएकाले उनले घरमै आइसोलेसनमा बस्ने निर्णय गरिन् । आफैं पनि स्वास्थ्यकर्मी भएकाले श्रीमान् र छोरीहरुलाई मनोबैज्ञानिक असर नपरोस् भनेर उनी सजग पनि थिइन् ।

Sanjita Bastakoti

स्वास्थ्य बिभाग, आफूलाई हेर्ने चिकित्सक र काम गरिरहेको अस्पतालबाट दैनिक धेरै पटक टेलिफोनमा सम्पर्क गरिएको र त्यसले आफूलाई मनोबैज्ञानिक रुपमा निकै सहयोग पनि भएको पनि उनले बताइन् ।

आइसोलेसनमा बस्दा खानपिनलाई निकै ध्यान दिएको बेसार र कागती मिसाएको तातो पानी पर्याप्त पिएको र योगा लगायत शारीरिक ब्यायाम गरेको पनि उनले बताइन् ।

उनले भनिन्–‘मलाई सातौं र आठौं दिनमा अलि अप्ठेरो हुनसक्ने सुझाव दिइएको थियो । त्यस्तै पनि भयो, तर धैर्यतापूर्वक अप्ठेरोलाई पचाएँ ।’ कोरोना भाइरसबारे सरकारले जारी गरेका सूचना र नीतिहरुमा आफू निरन्तर अपडेट भएर आइसोलेसनमा बिताएको उनले जानकारी दिइन् ।

आइसोलेसनको समय सकिन लाग्दा आफू काममा फर्किनुपर्ने स्वास्थ्यकर्मी भएकाले पटक–पटक स्वाब लिएर जाँच गरिएको बताइन् । पुनः जाँच गर्दा पहिलो पटक संक्रमण अन्त्य नभएको देखिएको, तर पछिल्लो दुई पटक संक्रमण नदेखिएको उनले बताइन् ।

उनले भनेकी छिन्–‘म अब कोरोना भाइरसबाट पूर्ण मुक्त भएँ । अहिले त म काममा पनि फर्किसकेकी छु ।’ उनले ‘म स्वास्थ्य क्षेत्रको कामदार हुँ, घरमा बस्न सक्दिनँ’ भन्ने फ्रेम आफ्नो सामाजिक सन्जाल फेसबुकमा राखेकी छन् ।

उनले आफूलाई आफू कार्यरत अस्पताल परिवार र मेलबर्नको छिमेकी समाजले सम्मान गरिरहेको बताउँदै एक पटक कोरोना संक्रमण भएको व्यक्तिलाई समाजमा हेर्ने दृष्टिकोण गलत हुनसक्ने तर्फ सबै सचेत हुनुपर्ने पनि बताइन् ।

अष्ट्रेलियामा करिब १ दर्जनलाई कोरोना संक्रमण देखिए पनि हालसम्म मेलबर्नकी नेपाली नर्स सञ्जिता न्यौपाने बस्ताकोटीबाहेक अरुले आफ्नो परिचय खुलाएका छैनन् । उनले आफू स्वास्थ्यकर्मी पनि भएको र कोरोनाविरुद्ध चेतना फैलाउने आफ्नो कर्तव्य ठानेर परिचय सार्वजनिक गरेको उनले बताइन् । उनी नेपालको चितवनको टाँडी निवासी हुन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS