लेडीहन्टरबारेको खुलासा, प्रेमिका बनाउँदै ठग्दै
पछिल्लो समय ठगीका निकै अचम्म लाग्दा घटनाहरु सार्वजनिक हुँदै आएका छन् । जो कोहिलाई पत्याउनै मुस्किल पर्छ । कि २ जना युवकले ५० जना भन्दा बढि प्रेमिका कसरी बनाउन सक्लान् ? अनी सबैसंग लाखौँ लाख ठगी कसरी गर्न सक्लान् ?
पत्याउनै नसकिने यो घटना यथार्थमै प्रमाणित भएको छ । गत साउनमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआईबीमा एक महिला एक पुरुषले ठगी गरे भन्दै आईपुगिन् । प्रहरीले ति ब्यक्तिलाई पक्राउ ग¥यो ।
जव ति ब्यक्ति पक्राउ परे । उनीबाटै ठगीएको भन्दै अन्य उजुरीहरु धमाधम सिआईबीमा आउन थाले । अनुसन्धान अघि बढ्दै गयो । संगै अर्का युवक पनि समातिए । र निष्कर्ष निस्कियो । ती २ युवक मिलेर ५० जना बढि युवतीहरुलाई विभिन्न प्रलोभनमा फसाएर करोडौँ ठगी गरेको खुल्न आयो ।
झापा शनिअर्जुन घर भएका नेत्रप्रसाद गिरीले ५० भन्दा धेरै युवतीलाई प्रेमिका बनाएर ठगी गरिसकेको प्रहरी अनुसन्धानमा खुलेको छ । उनले रविन केसी भन्ने पाँचथर फैलचाका रविनकुमार चिमोरियासँग मिलेर प्रेमिका बनाएर ठगी धन्दा चलाउँदै आएका थिए । सिआइबीले गत ८ पुसमा उनीहरूलाई पक्राउ गरेको छ ।
म्याग्दीकी इन्दु शर्माका श्रीमानको दुबईमा मृत्यु भयो । श्रीमानको मृत्युपछि उनी एक्लो जीवन बिताउँदै आएकी थिइन् । गत वर्ष उनको एक्कासि एक आकर्षक पुरुषसँग भेट भयो । गाउँकै खगेन्द्र न्यौपाने नामक भाइमार्फत भेटेका ती व्यक्तिलाई उनले चिनेकी थिइनन् ।
नाम थियो अभिषेक केसी । केसीले यति मीठो कुरा गरे कि पहिलो भेटमै शर्मा मोहित भइन् । भाइलाई वैदेशिक रोजगारमा पठाउने सिलसिलामा उनले केसीलाई भेटेकी थिइन् । खाडी देश नभई भाइलाई केसीले पोर्चुगल पठाउने आश्वासन दिए ।
नियमित भेट हुँदै गएपछि इन्दुलाई उनले काठमाडौं बोलाए । बिहे गरेर पोर्चुगल लिएर जाने विश्वास दिलाए । एकल महिला बिन्दुलाई एक आकर्षक र धनी पुरुषले त्यस्तो प्रस्ताव राखेपछि आकर्षित हुनु स्वाभाविक थियो ।
ललितपुरको इमाडोलमा केसीले फ्लाट खोजेर राखिदिए । आफू एक ठूलो व्यवसायी भएको भ्रममा पारेर केसीले इन्दुलाई फसाएका थिए । श्रीमानको मृत्युपछि आएको १० लाख रुपैयाँ र जग्गा धितो राखेर १६ लाख ५० हजार रुपैयाँ उनले केसीलाई दिएकी थिइन् ।
श्रीमान जस्तै मानेर बिजनेसमा लगाउन भनेर उनले त्यो पैसा दिएकी थिइन् । करिब चार महिना उनी त्यसरी केसीसँग काठमाडौंमा बसिन् । तर, चार महिनापछि केसी एक्कासि बेपत्ता भए । धेरै दिनसम्म मोबाइल अफ भएपछि उनको चिन्ता बढ्दै गयो ।
केही दिनपछि मोबाइल अन हुने उनको आशा कायमै थियो । तर, महिना दिनसम्म पनि मोबाइल नखुलेपछि आफूलाई नयाँ संसार देखाउने केसी ठग भएको निष्कर्षमा उनी पुगिन् । र, उजुरी लिएर गत असारमा केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी पुगिन् ।
भाइलाई पोर्चुगल पठाउन र नयाँ जीवन सुरु गर्ने सपना बनाएकी उनी केसीको नक्कली प्रेममा झन् बर्बाद भइन् । उनले उजुरी दिएको ६ महिनापछि सिआइबीले केसीलाई पक्राउ गरेको होे । पक्राउ परेपछि मात्र उनले थाहा पाइन् कि अभिषेक केसी नाम गरेका ती युवकको वास्तविक नाम त नेत्रप्रसाद गिरी रहेछ ।
माथीको कथा एउटा उदाहरण कथा मात्र हो । पछिल्लो समय उनीहरूले दोहोरी साँझ तथा डिस्कोमा काम गर्ने युवतीहरूलाई ठग्न थालेका थिए । आफुहरु धनी भएको देखाउन एउटा आई–२० गाडी भाडामा लिएका थिए । रविनले नेत्र भर्खर अमेरिकाबाट आएको भन्दै युवतीहरूलाई झुक्याउने गर्दथे ।
दोहोरी र डान्सबारमा प्रायः न्यून आर्थिक अवस्थाका केटीहरू काम गर्ने भएकाले उनीहरू कार चढ्ने व्यक्तिसँग सजिलै प्रभावित हुन्थे । बालाजुको एक दोहोरी साँझमा मात्र उनीहरूको तीनजना गर्लफ्रेन्ड रहेको खुलेको छ । तीनैजनालाई बिहे गर्ने र विदेश लैजाने भन्दै ठग्दै आएका थिए ।
केहीलाई नेत्रले, केहीलाई रविनले त केहीलाई दुवैजना मिलेर ठगी गरेका थिए । नाटकीय शैलीमा उनीहरूले एकपछि अर्काे गर्दै युवतीलाई प्रेममा फसाउँदै ठग्दै आएको प्रहरीले जनाएको छ । त्यसरी ठगेको पैसा भने उनीहरूले क्यासिनो र दोहोरीमा उडाउने गर्दथे ।
गिरी रोमानिया पुगेका वेला क्यासिनोबाट पक्राउ परेका थिए । पछिल्लो समय भने उनी सिक्किमको माजोङ क्यासिनो गएर जुवा खेल्ने गरेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्