सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

शान्तिले मरोस भनेर भेन्टिलेटर बन्द गरिदिएँः नितला

कोरोना भाइरस (कोभिड–१९) का गम्भीर बिरामीहरुलाई भेन्टिलेटरमा राखेर उपचार गर्न सके उनीहरुलाई बचाउने सम्भावना रहन्छ भेन्टिलेटरको सहायताले उनीहरुलाई मृत्युको मुखबाट जोगाउन सकिन्छ ।

जब बिरामी आफैंमा अक्सिजन लिन असमर्थ हुन्छन्, भेन्टिलेटरको सहयोगमा बिरामीको फोक्सोमा अक्सिजन र्पुयाउन र कार्बन डाइअक्साइड बाहिर फाल्न सम्भव हुन्छ ।

तर भेन्टिलेटरको सहयोगमा मात्रै कोरोनाका बिरामीलाई बचाउन सम्भव छैन । यही कारण विश्वभरका स्वास्थ्यकर्मीहरु कठोर निर्णय लिन बाध्य छन् । बिरामीको अवस्था राम्रो छैन भने भेन्टिलेटर हटाउन बाध्य छन् ।

लन्डनको रोयल फ्री अस्पतालका इन्टेन्सिभ केयर युनिट (आईसीयू) की प्रमुख नर्स जुआनिता नितलाले बीबीसीलाई भनिन्–‘भेन्टिलेटरको स्वीच बन्द गर्नु धेरै पीडादायी हुन्छ । कहिलेकाहीँ त कसैको मृत्युको जिम्मेवार म आफैं हुँ भन्ने महसुस हुन्छ ।’

दक्षिण भारतमा जन्मेकी नितला विगत १६ वर्षदेखि इंग्ल्याण्डको नेशनल हेल्थ सर्भिसमा आईसीयू स्पेशलिस्ट नर्सको रूपमा कार्यरत छिन् । ४२ वर्षीया नितलाले भनिन्–‘भेन्टिलेटरको स्वीच बन्द गर्नु पनि मेरो कामको एक हिस्सा हो ।’

Corona

अप्रिलको दोस्रो साता नितला बिहानको सिफ्टमा काम गर्न अस्पताल पुगिन् । आईसीयू रजिष्टरका अनुसार उनले कोभिड–१९ को बिरामीको उपचार रोक्नु पर्ने भयो ।

बिरामी एक सामुदायिक स्वास्थ्य नर्स थिइन् । उनको उमेर ५० बर्ष भन्दा बढी थियो । नितलाले बिरामीकी छोरीलाई यस प्रक्रियाको बारेमा जानकारी गराइन् । नितलाले भनिन्–‘तिम्रो आमालाई कुनै पीडा छैन । उनी आराममा छिन् । मैले उनको आमाको चाहना र धार्मिक विश्वास बारेमा पनि सोधें ।’

आईसीयूमा एक–एक गरी बेड राखिएका थियो । नितलाको वरिपरी अन्य गम्भीर बिरामीहरू पनि थिए, जसमध्ये एक जना बिरामी बेहोस अवस्थामा थिए । नितलाले भनिन्–‘नर्सहरू त्यहीं थिए, जहाँ आठवटा बेडहरू थिए । सबै बिरामीहरू गम्भीर नै थिए । मैले पर्दा झारीदिएँ र सबै अलार्म बन्द गरिदिएँ । सम्पूर्ण चिकित्सा टोली केही क्षणको लागि चुपचाप बस्यौं । नर्सहरूले पनि एकआपसमा कुराकानी बन्द र्गयौं । बिरामीहरुको मर्यादा र सुविधा हाम्रो प्राथमिकता हो ।’

नितलाले त्यसपछि बिरामीको कान नजिकै फोन राखिन् र उनकी छोरीलाई बोल्न भनिन् । यस फोन कलबारे नितलाले भनिन्, ‘मेरो लागि यो केवल फोन कल थियो तर यो परिवारका लागि एकदम महत्वपूर्ण छ । उनीहरू भिडियो कल गर्न चाहन्थे तर दुर्भाग्यवश आईसीयूभित्र मोबाइल फोन बोक्न अनुमति हुँदैन ।’

बिरामीको परिवारको अनुरोध अनुसार, नितलाले कम्प्युटरबाट विशेष संगीत भिडियो बजाइन् । त्यसपछि भेन्टिलेटर बन्द गर्न स्वीच बन्द गरिन् । ‘म उनको नजिकै बसेर उनको मृत्यु नहुन्जेलसम्म हात समातेरै बसी रहेँ,’ नितलाले भनिन् । मेडिकल टीमले धेरै सोचविचार गरेर स्वास फेर्न मद्दत गर्न र उपचार रोक्न यस्तो निर्णय लिने गर्छ ।

यसमा उमेर, बिरामीको स्वास्थ्य स्थिति, उपचारको प्रभाव र सुधारको आशालाई ध्यानमा राखिन्छ । नितलाको भेन्टिलेटरको स्वीच बन्द गरेको ५ मिनेटभित्र बिरामीको मृत्यु भएको थियो । नितलाले भनिन्–‘मैले मनिटरमा चम्किरहेको प्रकाश देखिरहेको थिएँ, मुटुको गति शून्य भएपछि पर्दाको स्क्रिनमा सिधा रेखा देखा पर्न थाल्यो ।’

नितलाले त्यसपछि औषधि सप्लाई गर्ने ट्यूबहरू शरीरबाट निकालिन् । बिरामीकी छोरी, फोनमा लगातार कुरा गरिरहेकी थिइन् । उनी फोनमा प्रार्थना गरिरहेकी थिइन् । आफ्नो हृदय भारी बनाउँदै नितलाले ह्यान्डसेट उठाएर बिरामीकी छोरीलाई सबै कुरा सकिएको बताइन् ।

Natiya

तर नर्स नितलाको कर्तव्य बिरामीको मृत्युपछि पनि अन्त्य हुँदैन । उनले भनिन–‘एक सहकर्मीसँगै मैले उनलाई ओछ्यानमै नुहाइदिएँ र सेतो कफनले शरीर बेरिदिएँ । त्यसपछि उनको शवलाई ठूलो ब्यागमा राखिदिएँ । ब्याग बन्द गर्नु अघि मैले उनको निधारमा क्रस चिन्ह बनाइदिएँ ।’

कोरोना भाइरस भन्दा पहिले, उपचार रोक्नका लागि बिरामीका आफन्तहरुसँग आमनेसामने कुरा गरिन्थ्यो । लाइफ सपोर्ट सिस्टमको बन्द गर्नु अघि बिरामीका नजिकका आफन्तलाई पनि आईसीयूमा प्रवेश गर्न अनुमति दिइन्थ्यो । तर यो संसारको धेरैजसो भागहरूमा यस्तो भइरहेको छैन ।

नितलाले त्यस्ता बिरामीहरूलाई हेर्ने गर्छिन्–‘उनीहरूलाई यो संक्रमणबाट मुक्त हुन मद्दत गर्ने प्रयास पनि गर्छिन् । उनी भन्छिन्–‘कोही पनि यस्तो एक्लोपनमा मरेको देख्नु दुःखद् कुरा हो ।’ नितलाले विरामीहरुले गरिरहेको संघर्ष र स्वास फेर्न तड्पिरहेकाहरुको उपचारमा संलग्न हुन्छिन्, जुनकुरा धेरै तनावपूर्ण हो ।

बिरामीको संख्या बढेको कारण अस्पतालको ३४ बेडको आईसीयू कक्षलाई ६० बेड बनाइएको छ । सबै आईसीयू बेडमा बिरामीहरु छन् । आईसीयू कक्षमा बिरामीहरूको हेरचाह गर्न १७५ जना नर्सहरु दिन र रात खटिने गरेका छन् ।

नितला भन्छिन्–‘हामी सामान्यतया आईसीयू कक्षमा एक बिरामीका लागि एक नर्स राख्ने गर्छौं । तर अब औसतमा प्रत्येक तीन बिरामीमा एक जना नर्स छन । अवस्था झन् झन् खराब हुँदै जाँदा ६ जना बिरामीका लागि एक जना नर्स खटाउनु पर्नेछ ।’

नितलाको टोलीका केही नर्सहरूमा कोरोनाका लक्षणहरू देखा परेको छ, जसका कारण उनीहरुलाई सेल्फ क्वारेन्टाइनमा पठाइएका छन् । अस्पतालले अन्य नर्सहरूलाई पनि आईसीयू कक्षमा काम गर्नका लागि प्रशिक्षण दिन थालेको छ ।

नितला भन्छिन्–‘सिफ्ट सुरु हुनुभन्दा अघि हामीहरु हात मिलाउँछौं र एक अर्कालाई सुरक्षित रहन भन्छौं । हामीहरु एक अर्कालाई ख्याल राख्छौं । हामी सबैलाई पन्जा, मास्क र सुरक्षात्मक गियर सही तरिकाले प्रयोग गर्छौं ।’

अस्पतालमा भेन्टिलेटर, इन्फ्यूजन पम्प, अक्सिजन सिलिन्डर र धेरै औषधिहरूको अभाव छ तर सम्पूर्ण टोलीको लागि पर्सनल प्रोटेक्ट इक्विपमेन्ट (पीपीई) किटहरू उपलब्ध छन् । नितलाले काम गर्ने आईसीयू कक्षमा प्रत्येक दिन एक जना मानिस मर्ने गरेका छन् । कोरोना संक्रमण अघि यस्तो अवस्था थिएन । नितला भन्छिन्, ‘यो साहस तोडनु जस्तै हो ।’

नर्सहरुको हेड भएका कारण नितलाले कहिलेकाँही आफ्ना डरलाई दबाउने पनि गरेकी छिन् । नितलाले भनिन्, ‘मैले नराम्रोे सपना पनि देख्ने गरेको छु । म सुत्नै सक्दिन । म आफैं संक्रमित भएँ की भनेर चिन्ता लाग्ने गर्छ । म साथीहरूसँग यसबारे कुरा गर्छु, तर सबै डराउँछन् ।’

गत वर्ष टीबी रोगका कारण नितला धेरै महिना कामबाट टाढा रहीन् । उनीलाई थाहा छ उनको फोक्सोको क्षमता पहिला जस्तो छैन । नितलाले भनिन्–‘मैले काम गर्नु हुँदैन, मानिसहरू भन्छन् । तर महामारीको अवस्था छ । म सबै छोडेर आफ्नो काम गरिरहेकोछु । आफ्नो सीफ्ट पूरा भएपछि म बिरामीहरूको बारेमा सोच्ने गर्दछु । जसको मृत्यु आफूले हेरचाह गरेको समयमा भएको थियो । तर अस्पतालबाट बाहिर निस्किएपछि, म यी सबै कुराहरु भुल्ने प्रयास गर्दछु ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS