सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपाली बैज्ञानिकले बनाए कोरोनाको औषधी

कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालय अन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मूल गर्ने औषधि तयार गरेको दाबी गरेका छन् ।

प्राध्यापक डा.ललितकुमार दासले विभिन्न स्वास्थ्यवद्र्धक जडीबुटीको सम्मिश्रणबाट त्यस्तो औषधिको निर्माण गरेको दाबी गर्दै राससलाई बताएका हुन् । भारतको बनारस हिन्दू विश्वविद्यालयबाट फाइटो केमेस्ट्रीमा पिएचडी उपाधि हासिल गरेका डा.दासले करिब २५ दिनदेखि आफ्नो प्रयोगशालामा केही एन्टीअक्सिडेन्ट याक्टिभिटी र इन्जिमेटिक याक्सन भएको प्लान्ट लिएर शोध गरी सो औषधि तयार गरेको जानकारी गराएका छन् ।

वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा यसको थप परीक्षणका लागि चाहिने सुविधा नभएको बताउँदै डा.दासले सरोकारवालासँग सहयोगको आह्वानसमेत गरेका छन् । उनले कोरोना भाइरसको औषधि निर्माण गर्न कडा मेहेनत गरेको र यस क्रममा विभिन्न निर्देशिकाहरू अनुरुप काम गरेको दाबी पनि गरेका छन् ।

Coronavirus Test

यसअघि उनले जडीबुटीमा आधारित हर्वल स्यानिटाइजर बनाएका थिए । अध्ययन संस्थानका प्रमुख विजय यादव लगायतका वैज्ञानिक र रसायनविज्ञहरूले आज उनले अनुसन्धान गरेको प्रयोगशालामा पुगेर जानकारीसमेत लिएका छन् ।

चीन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स र क्यानडा लगायतका दर्जनौँ मुलुकमा कोरोनाको उपचार पद्धति र औषधिको खोजी भइरहेको तर सफलता हासिल नभइसकेको अवस्थामा नेपालका वैज्ञानिकले तयार गरेको यो औषधिको थप परीक्षण हुन बाँकी नै छ ।

नेपाल सरकार, विश्वविद्यालयहरू तथा विश्व स्वास्थ्य सङ्गठनजस्ता अधिकारिक निकायले आवश्यक परीक्षणको व्यवस्था गरेमा यसको प्रभावकारिताबारे निस्कर्षमा पुग्न सकिनेछ । डा.दासको दाबीलाई पुष्टि गर्न धेरै चरण पार गर्नुपर्ने छ । विगत २२ वर्षदेखि अनुसन्धान र अध्यापनमा संलग्न डा.दास वाग्मती प्रदेशको केमिकल सोसाइटीका उपाध्यक्षसमेत हुन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्