जापानमा कोरोना संक्रमित नेपालीको संख्या ४ पुग्यो
जापानमा फेरि अर्का एक नेपालीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । जापानको खानागावा केनमा बस्ने ४८ बर्षिय एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । अर्याल थरका संक्रमित नेपाली विगत १० वर्षभन्दा लामो समयदेखि जापान बस्दै आएको बताइएको छ ।
ज्वरो, रुघा र खोकी देखापरेपछि केही दिन अघि अस्पताल पुगेका उनलाई परिक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो । उनलाई ३ दिन अघि नै संक्रमण पुष्टि भएको खुल्न आएको छ ।

संक्रमित स्वयंले बुधबार बिहान एनआरएनए जापान कोरोना संक्रमण सहयोग संयन्त्रकी संयोजकलाई फोनबाट जानकारी गराएपछि घटना सार्बजनिक भएको हो । उनको अवस्था सामान्य रहेकाले चिकित्सकले उनलाई होम क्वारेन्टाइनमै बसेर औषधी सेवन गर्न र आराम गर्न सुझाएको बताइएको छ ।
एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीका अनुसार, यसरी घरमै बस्दा अरुमा पनि संक्रमण हुनसक्ने खतरा रहने र आवश्यक उपचार पनि नहुने भएकाले हस्पिटलमै भर्ना गराउनका लागि पहल भईरहेको छ ।
परिवारसंगै बस्दै आएका उनको परिवारका अन्य सदस्यमा भने हालसम्म संक्रमण नदेखिएको बताइएको छ । यो संगै जापानमा कोरोना संक्रमित नेपालीको संख्या ४ जना पुगेको छ भने १ जना निको भएर घर फर्किसकेकी छिन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्