नेपालमा एकैदिन १० जनामा कोरोना भेटियो
बाँकेको नेपालगञ्जमा ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । यस सँगै संक्रमितको संख्या ६९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये ५ पुरुष र ४ महिला छन् । उनीहरु ७ देखि ५८ वर्ष उमेरका छन् । १९ वैशाखमा बाँकेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको सम्पर्कमा आएका परिवारका ७ सदस्यसहित ९० जनाको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गरिएको थियो ।
त्यसमध्ये ९ जनामा रिपोर्ट पोजेटिभ आएको छ भने अरुको नेगेटिभ आएको छ । उनीहरु सबैलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गरिनेछ ।
आइतबार नै पर्साको वीरगञ्जमा एक जना संक्रमित भेटिएका थिए । नेपालगञ्ज र वीरगञ्ज गरी आइतबार एकै दिन नेपालमा १० जना कोरोना संक्रमित भेटिएका हुन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्