सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपाल छिर्न नदिएपछी प्रहरीमाथी आक्रमण

लकडाउनमा दुई भारतीय नागरिक नेपाल छिर्न खोजेपछि बाराको सुवर्ण गाउँपालिका– ३ कबहीगोठ पचगछिया क्षेत्र तनावग्रस्त बनेको छ । भारतीयले सशस्त्र प्रहरीको ड्युटी पोष्ट नै भत्काउन खोेजेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको छ ।

भारतको बिहार राज्य अन्तर्गत पर्ने हनुमाननगर गाउँबाट दुईवटा गाडीसहित नेपाल प्रवेश गर्न खोजेका भारतीय नागरिकले हातपात र ढुंगामुढा गरेपछि सशस्त्र प्रहरीले हवाई फायर गरी भीडलाई नियन्त्रणमा लिएको थियो ।

नेपाली सुरक्षाकर्मीलाई भारतीयले आक्रमण गर्न खोजेपछि नेपालीहरु पनि प्रतिकारका लागि पुगेका थिए । दुवै देशका सुरक्षाकर्मीहरुले उनीहरुलाई सम्झाई बुझाई गरेर घर फर्काएका छन् ।

स्थानीयका अनुसार भारतको सीमावर्ती गाउँ हनुमाननगरका कतिपय बासिन्दाको खेतमा जान नेपालको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । त्यस क्षेत्रमा २०–२५ बिघा जमिनमा उनीहरुले बाली लगाएका छन् । लकडाउनपछि उनीहरुलाई नेपालतर्फ आउनमा रोक लगाइएको छ ।

एक–एक जना गरेर आउने भनेपनि नेपाली सुरक्षाकर्मीले नेपाल प्रवेश गर्न नमिल्ने अडान राख्दै आएका थिए । तर खेतमा तयार भएको तरकारी लगायतका बाली भित्र्याउन र नयाँ बाली लगाउन नपाएको भन्दै हनुमानगरका बासिन्दा आक्रोशित बनेका हुन् ।

Nepal India border

सुवर्ण गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष महेन्द्र प्रसाद यादवले ठूलो संख्यामा भारतीय नागरिक नेपाल प्रवेश गर्न खोजेपछि स्थिति तनावपूर्ण बनेको तर अहिले सामान्य भइसकेको बताए ।

‘सीमावर्ती हनुमान नगर गाउँका बासिन्दा पानी परेको मौका छोपेर नेपाल छिर्न खोजेका थिए,’ उनले भने, ‘ नेपाली प्रशासनले रोकेपछि उनीहरु हातपातमा उत्रिएका थिए । स्थानीय नेपाली पनि प्रतिकारमा उत्रिएका थिए । सो क्षेत्र केहीबेर तनावपूर्ण बनेको थियो ।

सुरुमा दुई जना भारतीय नेपाल प्रवेश गर्न खोज्दा सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए । त्यसपछि फर्केर गएका उनीहरुले थप मानिसहरु सहित आएर सशस्त्र प्रहरीको पोष्ट नै भत्काएपछि भीड नियन्त्रणका लागि एक राउण्ड हवाई फायर गर्नुपरेको सशस्त्र प्रहरी उपरीक्षक दिग्विजय सुवेदीले जानकारी दिए ।

‘दुईजना भारतीय नेपाल छिर्न खोजेका थियौं, तर पछि उनीहरुले सय डेड सय मानिसहरु लिएर आएका थिए,’ उनले भने, ‘सीमामा निर्माण गरिएको ड्युटी पोष्ट नै तोडफोड गरेपछि स्थिति नियन्त्रणमा एक राउण्ड हवाई फायर गरेका छौं । अहिले स्थिति नियन्त्रणमा आइसकेको छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्