भारतबाट लुक्दै आएका २ जनामा कोरोना
बिहिबार कपिलवस्तु जिल्लामा दुई जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितभेटिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १०१ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य छ ।
कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार राति कोरोना संक्रमण पुष्टि भएका कपिलवस्तुका दुुईजना लकडाउनकै बीच भारतको मुम्बईबाट चार दिनअघि नेपाल प्रवेश गरेको पुष्टि भएको छ ।
कपिलवस्तुुको मायादेवी गाउँपालिका–८ विजुवाका १६ र २२ वर्षका उनीहरुका वैशाख २३ गते कपिलवस्तुको पकडी नाकाको दक्षिणतर्फको खुला सीमाबाट नेपाल आएको कपिलवस्तुका प्रहरी प्रमुख दीपशमशेर जबराले बताए ।
लुकिछिपी भारतीय सीमा हुँदै नेपाल प्रवेश गरेका उनीहरुलाई स्थानीयले मायादेवी गाउँपालिकाकै तीर्थादेवी छत्रपाली माविको क्वारेन्टाइनमा राखेका थिए ।
दुई जनाकै थ्रोट स्वाबको परीक्षण भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा किट अभावका कारण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।
अन्य चारजना युवाहरू पनि उनीहरु सँगै आएको सूचना आएको र खोजी कार्य भइरहेको कपिलवस्तु प्रहरी प्रमुख जबराले बताए ।
रुपन्देहीको कोटहीमाई–१ का संक्रमित युवा पनि वैशाख ५ गते भारतको नयाँदिल्लीबाट लुकिछिपी नेपाल प्रवेश गरेका थिए ।
कपिलवस्तुका संक्रमित दुई युवालाई बुटवल धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालको आइसोलेसन बेडमा लैजाने तयारी भइरहेको उनले बताए ।
उनीहरूको यात्रा विवरण र सम्पर्कमा रहेका व्यक्ति पहिचान गर्न आज (शुक्रबार) देखि प्रहरी र स्वास्थ्यकर्मी परिचालन गरिने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरीले जानकारी दिए ।
नेपालमा पहिलो पटक माघ ९ मा कोरोना संक्रमणको पुष्टि भएको थियो । दोस्रो केस १० चैतमा देखियो, जुन बढेर अब १०१ पुगेको छ । उनीहरु मध्ये १९ जना निको भएर घर फर्किएका छन् । निको भइसकेका तीन जनाको पुनः पोजेटिभ आएको छ ।
स्वास्थ्य मन्त्रालयकाअनुसार देशभर अहिले पनि १३३ जना चिकित्सकीय निगरानीमा छन् भने १७ हजारबढी क्वारेन्टाइनमा छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्