प्रेमिका गर्भवती भएपछी फरार भए प्रेमी
पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं २ मा प्रेमिका गर्भवती भएपछि सम्पर्कविहीन भएको भन्दै एक युवकविरुद्ध उजुरी परेको छ । दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेकी युवती गर्भवती भएपछि सम्पर्कविहीन भएको भन्दै युवतीले स्थानीय १९ बर्षका विशालबाबु चौधरीविरुद्ध गाउँपालिकाको न्यायिक समिति र जिल्ला प्रहरी कार्यालय पर्साको महिला सेलमा उजुरी दिएकी छन् ।
माझी मुसहर दलित समुदायकी युवती र चौधरीबीच झण्डै दुईवर्षदेखि प्रेम सम्बन्ध रहेको थियो । त्यसपछि उनीहरु घर छोडेर भागेका थिए । भागेर संगै बस्दै आएका उनीहरु केही दिनअघि गाउँ फर्केका थिए । तर युवकको घर परिवारका सदस्यले सम्बन्ध अस्वीकार गरेपछि युवक सम्पर्कविहीन भएका हुन् । परिवारले नै युवकलाई भगाएको आरोप केटी पक्षले लगाएका छन् ।
पटेर्वासुगौली गाउँपालिकाको उपप्रमुख ममता महतोले चौधरी नआउँदा युवती अन्यायमा परेको बताइन् । ‘युवती गर्भवती छिन्, दलित समुदायको भएकोले परिवारले अस्वीकार गरेको हुन सक्छ । न्यायिक समितिमा छलफल गराएर सहमति गराउन पटक पटक कोशिस गरेका हौं’ उनले भनिन् ‘विशालले युवतीसँग विवाह गर्नुपर्छ भन्ने सामाजिक अगुवाहरुको धारणा छ । तर युवक सम्पर्कमा नआउँदा समस्या समाधान हुन सकेको छैन ।’

युवतीका बुवाले छोरीले न्याय पाउनुपर्ने बताएका छन् । ‘चौधरीले मेरी छोरीलाई गर्भवती बनाएका छन्, उनले न्याय पाउनुपर्छ’ उनले भने ‘उसले सहमतिमा विवाह गर्छ भने ठीकै छ, होइन भने कानुनी बाटोमा जान्छौं ।’
प्रहरीले समस्या समाधानका लागि तदारुकता नदेखाएको आरोप उनीहरुले लगाएका छन् । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक दीपक चोरवारले फरार युवकलाई झिकाउन जिल्लाबाट आदेश आए पनि घरमा नरहेकोले पठाउन नसकिएको बताए ।
‘विशाल चौधरीविरुद्ध हामीकहाँ कुनै उजुरी परेको छैन, जिल्लामा निवेदन परेको हुन सक्छ । जिल्लामा झिकाउन पत्र आएको थियो’ प्रहरी निरीक्षक चोरवारले भने ‘चौधरी घरमा छैनन्, कता गएका छन् ? खोजी गरिरहेका छौं ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्