कालापानीबाट भारतीय सेना हटाउः नेपाली कांग्रेस
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले लिम्पियाधुरा, कालापानी र लिपुलेकको सीमा विवादबारे भारत र चीन दुवैसँग संवाद गर्नुपर्ने बताएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी दुवै मित्रराष्ट्रसँग प्रष्ट धारणा र ऐतिहासिक तथ्यका आधारमा दीर्घकालीन समाधान नेपालको रणनीति हुनुपर्ने बताए ।
‘दुवै छिमेकी मित्र राष्ट्रसंग ‘प्रष्ट धारणा र ऐतिहासिक तथ्यका आधारमा दीर्घकालीन समाधान’ नेपालको अहिलेको परिपक्व रणनीति हुनुपर्दछ’ विज्ञप्तिमा भनिएको छ, ‘सामान्य वक्तव्य वा सामान्य नोट जारी गरेर नेपाल सरकारको दायित्व पूरा हुन्न ।’
कांग्रेसले दीर्घकालीन समाधानका लागि सुस्पष्ट ढंगले उच्च स्तरीय कुटनैतिक पहल गर्न सरकारलाई आग्रह गरेको छ । नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण, नेपालको स्वाधीनतामाथिको ठाडो हस्तक्षेप भन्दै कांग्रेसले त्यस्तो गतिविधि अस्वीकार्य हुने बताएको छ ।
कांग्रेसले महाकाली नदीपूर्वको भू–भाग कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने र लिपुलेक एवं लिम्पियाधुरासम्मको नेपाली भूमिमा नेपालको अविच्छिन्न अधिकार निर्वाध रहनुपर्ने पनि बताएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्