सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

२६ जना थपिएपछि नेपालमा संक्रमित संख्या २४३

स्वास्थ्य मन्त्रालयले थप २६ जनामा सङक्रमण भएको विवरण बुधवार सार्वजनिक गरेसँगै नेपालमा कोरोनाभाइरसको संक्रमण पुष्टि हुनेको सङ्ख्या २ सय ४३ जना पुगेको छ ।

पछिल्लो सङ्क्रमण देखिएका व्यक्तिहरू रूपन्देही, कपिलवस्तु, पर्सा, नवलपरासी र बाँके जिल्लाको भएको मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन् ।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताइएको छ । बुधवार अपराह्ण मन्त्रालयले दुई जनामा सङ्क्रमण देखिएको बताएको थियो ।

Corona Virus

यसअघि मङ्गलवार एकै दिनमा ५७ जना सङ्क्रमित भएको पुष्टि भएको थियो । सङ्क्रमित पुष्टि हुनेमा रुपन्देहीमा ९ जना पुरुष र ३ जना महिला, कपिलवस्तुमा ८ पुरुष, पर्सामा दुई पुरुष र एक महिला र नवलपरासीमा एक पुरुष रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा गरिएका परीक्षणमा पछिल्ला २४ वटा सङ्क्रमण पुष्टि भएको भनिएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको ३,०४९ परीक्षण गरिएको अपराह्ण स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका थिए ।

उनले २,३५७ परीक्षण पीसीआर विधिबाट र ६९२ परीक्षण आरडीटी विधिबाट गरिएको जानकारी दिएका छन । हालसम्म देशभर पीसीआर विधिबाट २१,३०० भन्दा बढी र आरडीटी विधिबाट लगभग ६०,४०० परीक्षण गरिएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्