कोरोनाको अन्त्य नै नहुन पनि सक्छः डब्लुएचओ
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वमा कोरोना भाइरस (कोभिड–१९) को अन्त्य नहुन सक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओका आपतकालीन मामिलाका निर्देशक माइक रयानले जेनेभामा भर्चुअल प्रेस कन्फ्रेन्सको क्रममा बोल्दै यस्तो चेतावनी दिएको हो ।
खोप पत्ता लागे पनि नियन्त्रणमा निकै ठूलो प्रयास आवश्यक हुने उनको भनाइ छ । अहिलेसम्म कोरोना भाइरसका कारण विश्वभर करिब तीन लाख मानिसको मृत्यु भइसकेको छ । ४३ लाखभन्दा धेरै मानिस संक्रमित छन् ।
रयानका अनुसार, आम मानिसलाई बिना कुनै खोप रोग प्रतिरोधी क्षमताको विकास उपयुक्त स्तरमा पुग्न वर्षौं लाग्न सक्छ । अहिले विश्वभर कोरोना भाइरसको खोप पत्ता लगाउन १ थरी खोप निर्माणका प्रयासहरू भइरहेका छन् । यस्तोमा विशेषज्ञहरूले प्रयास भइरहेका कुनै पनि खोपको निर्माण हुन नसक्ने आशंका व्यक्त गरेका छन् ।
अहिले विश्वका धेरै मुलुकहरूले लकडाउन खुकुलो पार्दै गएको अवस्थामा डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेससले यसले कोरोना भाइरसको संक्रमण अझै तीव्र गतिमा बढ्न सक्ने चेतावनी दिएका छन् । डब्ल्यूएचओले अँझै पनि विश्वका सबै मुलुकलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।
विश्व स्वास्थ्य संगठनकी महामारी रोग विशेषज्ञ मारिया वेन केरखोवेले पनि यो महामारीबाट बाहिर आउन निकै लामो समय लाग्ने मनस्थिति बनाएर अघि बढ्नुपर्ने बताएकी छिन् ।
स्रोतः बीबीसी
फेसबुकबाट कमेन्ट गर्नुहोस्