सरकारले लकडाउन जेठ २० गते मध्यरातसम्म थप्यो
सरकारले लकडाउन जेठ २० गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।
नेपालमा कोरोना संक्रमित दोस्रो व्यक्ति भेटिएको भोलिपल्ट सरकारले ११ चैतमा देशभर लकडाउन लागू गरेको थियो । त्यसयता पटकपटक लकडाउनको समय थप भएको छ । पछिल्लो पटक थपिएको लकडाउनको समय जेठ ५ सम्म थियो ।
जेठ ५ पछि भने जोखिमका आधारमा लकडाउन खुकुलो वा कडा गर्ने भनिएको थियो । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेर २९५ पुगेको छ भने दुई जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएपछी आइतबार नै बसेको कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनु पर्ने निष्कर्ष निकालेको थियो ।
सञ्चारमन्त्री डा. खतिवडाकाअनुसार लकडाउनको नयाँ मोडालिटीबारे उच्चस्तरीय समितिमा छलफल भइरहेको छ । उनले भनेका छन्–‘लकडाउन र सामान्य आर्थिक जीवनलाई सँगसँगै लैजानुपर्ने हाम्रो बाध्यता छ । र, यसबारे केही छलफल भएको छ ।’
लकडाउनको थपिएको अवधिमा पनि कृषि उद्योग, ढुवानी, आयोजना निर्माणका कामहरु निरन्तर रहन्छन् । उनले भनेका छन्–‘धेरै मान्छेहरु क्वारेन्टाइनमा रहनु भयो भने उहाँहरुको उत्पादक समय खेर जानसम्छ । त्यसैले क्वारैन्टाइनमै रहेर कुनै काममा जोड्न सक्छौं कि भनेर हामीले छलफल गरेका छौं ।’
सबै नागरिकको रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्छ भनेर छलफल भएको र यसका लागि औषधिजन्य जडिवुटीबारे जनतचेतना जगाउने योजना छ । कोरोनाको जोखिम कहिलेसम्म रहन्छ भन्ने यकिन नभएको भन्दै उनले भने–‘लकडाउनमा रहिरहँदा अरु शारीरिक समस्याहरु पनि नहुन् र, नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ भनेर सरकारको नीति तथा कार्यक्रममा आरोग्यको कुरालाई बढी जोड दिएका छौं ।’
सीमामा रहेका नेपाली नागरिकहरूका साथै क्वारेन्टाइनको स्तर र क्षमताबारे समेत छलफल चलिरहेको भन्दै उनले समितिको अर्को बैठकले लकडाउनको मोडालिटीबारे निर्णय गर्ने बताएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्