थप ९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ३०४
रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा थप ९ जना नयाँ कोरोना संक्रमित फेला परेको बताएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ ।
संक्रमित हुनेमा ८ पुरुष र एक महिला रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटको इशनाथ नगरपालिकाको २, ३, ६, र ९ नम्बर वडाका २१, २१, २३, २५, २९, ३० वर्षका ७ जना पुरुषमा कोरोना देखिएको हो ।
यस्तै अर्का संक्रमित पुरुष बारा, करैयामाई–५ का हुन् । उनको उमेर ३८ वर्ष रहेको छ । यसैगरी संक्रमित २८ वर्षीय महिला रौतहटको माधबनारायण नगरपालिका–३ की बासिन्दा हुन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणले उनीहरूमा कोरोनाको संक्रमण पुष्टि गरेको हो । स्वास्थ्य मन्त्रालयले हाल सबै संक्रमितको अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्