सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सोमबार एकैदिन ६३ जनामा कोरोना भएको पुष्टि

झापामा थप एक जनामा कोरोना देखिएसंगै सोमबार नेपालमा एकैदिन ६३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बाँके, गुल्मी, रौतहट, झापा, बारा, धादिङ, मोरङ, दाङ र धनुषा जिल्लामा गरी ६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयले सोमबारको पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार गुल्मी पनि नयाँ कोरोना संक्रमित फेला परेका छन् । भैरहवाको प्रयोगशालामा गुल्मीका ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालका ३१ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

तराईका सुनसरीबाहेक सबै जिल्लामा कोरोनाभाइरसका संक्रमण देखिएको छ । पहाडमा धनकुटा, भोजपुर, उदयपुर, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, काठमाडौं, धादिङ, मकवानपुर, बाग्लुङ र गुल्मीमा कोरोनाभाइरसका संक्रमित भेटिएका छन् ।

देवकोटाका अनुसार सोमबार बाँकेमा ४६ पुरुष र एक महिला गरी ४७ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

https://youtu.be/fR8QVZFG98A

यसैगरी मोरङस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा मोरङकै एक जना पुरुष, धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषाका एक जना, रौतहटका १ जना दाङका एक जना र धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पत्रकार सम्मेलनबाहेक सोमबार बिहान मन्त्रालयले ९ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तीमार्फत जानकारी दिएको थियो । बिहान संक्रमण पुष्टि भएका रौतहट ८ र बारा जिल्लाका १ जना रहेका छन् ।

सोमबार साँझ अबेर गरी सार्बजनिक गरिएको सुचना अनुसार झापामा एक जनामा कोरोना देखिएको पुष्टि भएको छ । केही दिनअगाडि भारतबाट आएका झापा कचनकवल गाउँपालिकाका २३ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ३५८ पुगेको छ । यसमा २ सय ९९ पुरुष तथा ५९ जना महिला रहेका छन् । यस्तै संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्