सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सोमबार एकैदिन ८० जना कोरोना संक्रमित पुष्टि

सोमबार एकै दिन ८० जना कोरोना संक्रमित थपिएका छन् । सोमबारै पहिलो पटक कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको नरैनापुरमा मात्र ५९ जना संक्रमित भेटिएका छन् ।

रौतहटमा ९, धनुषामा ३, दैलेख, खोटाङ, सुनसरी, झापा, बारा, मोरङ, गुल्मी, दाङ, धादिङमा पनि कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो । नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा दैलेखको आठविसकोट नगरपालिका–१ का १ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।

https://youtu.be/fR8QVZFG98A

सुर्खेतको वीरेन्द्रनगरमा गरेको परीक्षणमा पोजेटिभ देखिएपछि उनको भेरी अस्पतालमा पुनः परीक्षण गरिएको थियो । त्यस्तै बाँकेको नरैनापुरमा सोमबार राति थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि सोमबार दिउँसो १ महिलासहित ४७ जनामा संक्रमण पुष्टि भएको थियो । आइतबार क्वारेन्टाइनमा मृत्यु भएका युवक पनि नरैनापुरकै हुन् । त्यस्तै खोटाङमा पनि पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । उनी हलेसी नगरपालिकाका निवासी पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसहित सोमबार रातिसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । गुल्मीका एक संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्