प्रेमिका भगाउन गएका युवाको गाउँलेद्वारा हत्या
गएराति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ ।
नवराजसँग गएका ६ युवा अँझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिएका छन् । १२ जना युवालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ । नवराज र सोतीस्थित सुष्मा मल्लबीच लामो समयदेखि प्रेम रहेको थियो ।
सुष्माकै आग्रहमा नवराज १९ जना युवा लिएर जाजरकोटबाट शनिबार बेलुकी सोती लिएर गएका थिए । केटाहरु आएको खबर पाएपछि सुष्माकी आमाले हल्ला गरेकी थिइन् । त्यसपछि भेला भएका गाउँलेहरुको कुटपिटबाट नवराजको मृत्यु भएको प्रनाउ श्रेष्ठको भनाइ छ ।
गाउँहरुले लखेट्दा अन्य छ युवा वेपत्ता रहेको उनको भनाइ छ । सुष्मा र नवराजबीच प्रेम रहेको थाहा पाएपछि आफन्तले सो विवाह हुन नदिन चौरजहारी प्रहरी कार्यालयमा केही समयअघि उजुरीसमेत दिएको श्रेष्ठले जानकारी दिए ।
उजुरी दिएपछि दुवै समूहबीच छलफलसमेत भएको थियो । जात नमिल्ने भन्दै चर्को रूपमा यो प्रेमलाई अस्वीकार गरिएको केही तथ्यले थाहा हुन आएको प्रहरीको भनाइ छ ।
(रासस)
फेसबुकबाट कमेन्ट गर्नुहोस्