सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चीनले भारतबाट आफ्ना नागरिक फिर्ता लैजाँदै

चीनले भारतमा फैलिरहेको कोरोना भाइरसलाई मध्यनजर गर्दै आफ्ना नागरिकलाई देश फर्काउने घोषणा गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै नयाँ दिल्ली स्थित चिनियाँ राजदूतावासले यस्तो घोषणा गरेको हो ।

दूतावासको वेबसाइटमा प्रकाशित एक सूचननाका अनुसार कोरोनाका कारण भारतमै अड्किएका पर्यटक र व्यवसायीलाई विशेष उडानमार्फत देश फर्काउन लागेको जनाइएको छ ।

भारतमा कति चिनियाँहरू अध्ययन गरिरहेका, बसिरहेका वा काम गरिरहेका छन् भन्ने कुनै पनि तथ्यांक तत्काल उपलब्ध छैन । बेइजिङले देश फर्किन चाहने नागरिकहरूलाई मे २७ को बिहानसम्म दूतावासमा सम्पर्क गर्न भनेको छ ।

यसमा योगा अभ्यास सिक्न र बौद्ध तीर्थ यात्रामा आएका नागरिकहरूलाई समेत समावेश छन् । दूतावासले कहिले र कहाँबाट उनीहरूलाई विशेष उडानमार्फत देश फर्काउने छ भन्ने बारेमा कुनै जानकारी दिएको छैन ।

चीनको यो सूचना भारत र चीनको सीमाक्षेत्रमा दुबै पक्षबिच चर्किरहेको विवादका समयमा आएको छ । भारतले पनि चीनको वुहानमा कोरोना भाइरसको महामारी फैलिएपछि आफ्ना ७ सय नागरिकलाई त्यहाँबाट विशेष उडानमार्फत उद्धार गरेको थियो ।

दूतावासले जारी गरेको सूचनामा देश फर्कन चाहनेले आफ्नो टिकटको आर्थिक व्यवस्थापन स्वयंले गर्नुपर्ने जनाएको छ । यसैगरी देश फर्किएपछि १४ दिन क्वारेन्टिनको व्यवस्थाको खर्च पनि आफैले गर्नुपर्ने उसको भनाइ छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्