सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपालमा कोरोना संक्रमितको संख्या ९०१ पुग्यो

नेपालमा बुधबार एकैदिन १२९ जनामा कोरोना (कोभिड–१९) संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन यति धेरै संख्यामा संक्रमित भेटिएका हुन् । योसँगै कुल संक्रमित संख्या ९०१ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकाहरु सबै सप्तरीका हुन् ।

कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौंडामा भएको परीक्षणमा रौतहटका ७ सहित ८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

Corona Infected

पोखरामा भएको परीक्षणमा बागलुङका ४ जनामा पोजेटिभ देखिएको छ । दाङमा भएको परीक्षणमा रुकुम पूर्वका ३, दाङका १५ गरी १८ जनामो पोजेटिभ देखिएको हो ।

बाँकेको भेरी अस्पतालमा भएको परीक्षणमा १६ जना पोजेटिभ देखिएको प्रवक्ता डा. देवकोटाले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको पोजेटिभ रिपोर्ट आएको छ ।

बुधबार कर्णालीमा पनि १५ जनामा कोरोना पुष्टि भएको छ । वीरेन्द्रनगरको प्रयोगशालामा भएको परीक्षणबाट १५ जनामा पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

नयाँ संक्रमितमध्ये वीरेन्द्रनगर नगरपालिका ७ पुरुष र ३ महिला रहेका छन् भने चौकुने गाउँपालिकाका दुईजना महिला र एकजना पुरुष रहेका छन् । अर्का एकजना ५५ वर्षीय पुरुष बझाङका रहेको खुलेको छ भने अर्की एक महिला बोल्न नसक्ने भएकोले पहिचान नभएको महाशाखाका प्रमुख डा. तिवारीले बताए ।

नेपालमा बुधबार संक्रमण देखिएकामध्ये पुरुष ८०५ र महिला ९६ रहेका छन् । संक्रमितमध्ये हालसम्म १८३ जना निको भएर घर फर्किसकेका छन् भने ४ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख २ सय ८७ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ५८ हजार २ सय ७७ परीक्षणहरु गरिएका छन् । बुधबारको अपडेटमा क्वारेन्टाइनमा ७० हजार ३ सय ५ जना रहेका छन् । हालसम्म आइसोलेसनमा देशभरी ६९९ जना रहेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्