सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कोरोनाबाट मरेकाको शव लैजाँदा भागाभाग भयो

काठमाडौंको पशुपतिनाथस्थित शवदाह गृहमा कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव ल्याउँदा कर्मचारी भागेका छन् । बिहीबार साँझसम्म शव जलाइरहेका उनीहरु कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव ल्याउने बेलामा शव दाह गृहमा ताल्चा लगाएर भागेका हुन् ।

ललितपुरस्थित किस्ट अस्पतालमा बुधबार साँझ मृत्यु भएका बुङ्मतीका एक पुरुषलाई दाह संस्कारका लागि शव लैजाँदा शवदाह गृह बन्द थियो । अस्पतालबाट मृतक पुरुषको शवलाई विश्व स्वास्थ्य संगठनको नियम पालना गरेरै लगिएको थियो ।

तर शव दाह गृहमा कर्मचारी नभएपछि अर्को घाटबाट कर्मचारी ल्याई उनीहरुलाई प्रहरीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) दिएपछि शव जलाउने प्रक्रिया सुरु भएको थियो ।

यद्यपि, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले भने शव दाहगृह बन्द नभएको बताए । उनले ६ बजे नियमित शवदाह गृह बन्द हुने गरेकोले शवदाह गृहमा ताल्चा लगाएको देखिए पनि केहीबेरमा नै शवदाह गृह खुला गरेर मृतकको अन्त्येष्टि सुरु गरिएको बताएका छन् ।

Corona death kathmandu bungmati

यसअघि कोरोना संक्रमित सिन्धुपाल्चोककी महिलाको पनि शव दाहगृहमै शव अन्त्येष्टि गरिएको थियो । नेपालमा कोरोनाका कारण हालसम्म ५ जनाको मृत्यु भईसकेको छ । यो समाचार तयार पार्दासम्म नेपालमा १०५३ जना कोरोना संक्रमित पुष्टि भएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्