सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५३

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार सय ५३ पुगेको छ । बिहीबार दाङमा २ र कपिलवस्तु जिल्लामा थप ९ जना कोरोना संक्रमित थपिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५३ पुगेको हो ।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार गरिएको पिसिआर परीक्षणमा ११ जनामा रिपोर्ट पोजेटिभ देखिएको उपकुलपति डा. संगीता भण्डारीले जानकारी दिएकी छिन् ।

संक्रमितमध्ये दाङको गढवा गाउँपालिका वडा नं. १ का २८ वर्षीय पुरूष र गढवा २ मा ४१ वर्षीय अर्का एक पुरूषमा कोरोना संक्रमण देखिएको छ । उनीहरू छिमेकी देश भारतबाट आएपछि स्थानीय क्वारेन्टिनमा बसेका थिए । योसहित दाङ जिल्लाका २२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये १ जना निको भएर घर गइसकेका छन् ।

बिहीबार नै प्रतिष्ठानको रिपोर्ट अनुसार कपिलस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं. ३ का २३ र ३० वर्षका पुरूष, वडा नं. ५ का २६ वर्षीय एक पुरूष र वडा नं. ७ का १७, ३७, ३९,४०,४३ र ५२ वर्षीय पुरूषमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबारसम्म २ हजार १ सय ४६ रिपोर्ट परीक्षण गरिएकोमा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले बताएका छन् ।

यसअघि बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा संक्रमण पुष्टि भएको भन्दै संक्रमितको संख्या एक हजार ४२ पुगेको जानकारी दिएका थिए ।

त्यसपछी थप ११ जना कोरोना संक्रमित भएको पुष्टि भएसंगै नेपालमा संक्रमित हुनेको संख्या १ हजार ५३ पुगेको हो । नेपालमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएपछि पहिलो पटक सबैभन्दा बढी १ सय ६७ जना संक्रमित भेटिएका हुन् । यसअघि बुधबार मात्रै ११४ जनामा संक्रमण पुष्टि भएको थियो ।

बिहानको पत्रकार सम्मेलन अनुसार पछिल्लो २४ घण्टामा थप संक्रमण पुष्टि हुनेहरुमा धनुषाका २९ जना, झापाका २५ जना, रौतहटका २० जना, महोत्तरीका १७, सप्तरीका १४ जना, सुर्खेतका १३ जना, दैलेखका ८ जना, सर्लाहीका ७ जना, सिरहाका ६ जना, स्याङ्जा र बर्दियाका ३–३ जना, दोलखा र कैलाली २–२ जना र बाँके, मकवानपुर, दार्चुला, बझाङ, सोलुखुम्बु र नवलपरासी पूर्वका एक–एक जना रहेका छन् ।

संक्रमण पुष्टि भएकाहरुमध्ये हालसम्म १८७ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै बुधबार थप एक जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । बुधबार ललितपुरको बुङमतीका ५६ वर्षीय पुरुषको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

पहिलेदेखि नै कलेजोसँग सम्बन्धित रोगले ग्रसित उनमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । यसअघि सिन्धुपाल्चोक, बाँके, गुल्मी र बारामा एकरएक गरी ४ जनाको मृत्यु भइसकेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्