सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

ड्युटी गर्दागर्दै थाकेपछी सडकमै पल्टिन्छन प्रहरी

भारतबाट दिनहुँ सयौं नागरिक घर फर्किएपछि सुदुरपश्चिम प्रदेशस्थित डोटीका प्रहरीहरूले दैनिक १८ घन्टासम्म ड्युटीमा खटिनु परेको छ । भारतका विभिन्न ठाउँबाट कैलालीको गौरीफन्टा नाका हुँदै स्वदेश भित्रिएका नेपालीहरूलाई सम्बन्धित स्थानीय तह पठाउन डोटीका प्रहरी दिनरात खटेका छन् ।

डोटीका प्रहरी उपरीक्षक दीलिपसिंह देउवाले जिल्लामा प्रहरी संख्या कम हुँदा ड्युटी खटाउन समस्या भइरहेको बताएका छन् । ‘खाना खाने बेलाबाहेक अरू बेला ड्युटीका प्रहरीसँग भेट हुन्न,’ उनले भने, ‘१८ घन्टासम्म सडकमा प्रहरीले ड्युटी गर्नुपरेको छ ।’

ड्युटीका कारण भोक, प्यास र थकानले प्रहरीहरू सडकमै सुतेका फोटा सार्वजनिक भएका छन् । प्रहरी उपरिक्षक देउवाले भने–‘प्राय; रातमा मानिसहरू हाम्रो जिल्ला प्रवेश गर्छन् । उनीहरूलाई गाडीमा राखेर सम्बन्धित स्थानीय तहमा पठाउनुपर्छ । उनीहरूको विवरण राख्नेदेखि बसमा पनि प्रहरी नै राखेर सम्बन्धित ठाउँमा पठाउने गरेका छौं ।’

लामो समयसम्म निरन्तर ड्युटीका कारण थाकेका प्रहरीहरू सडकमा आराम गरेको उनले बताए । प्रहरी उपरिक्षक देउवाले भने–‘मानिसहरू बोकेका बस नआउन्जेल प्रहरीहरूले सडकमै रेष्ट गरेका हुन्। सडकमै सुत्ने गरेको भने होइन ।’ प्रहरी संख्या कम हुँदा ड्युटी व्यवस्थापनमा समस्या झेल्नुपरेको उनले बताए ।

Police duty in Doti

‘भारतबाट मानिसहरू ठूलो संख्यामा फर्केका कारण प्रहरीले निरन्तर ड्युटी गर्नु परेको छ,’ उनले भने, ‘सधैंभरि यस्तो समस्या आउँदैन । एक सातादेखि लोड बढेको छ ।’

क्वारेन्टाइनदेखि सडकमा यात्रु व्यवस्थापन गर्नेसम्मका जिम्मेवारी प्रहरीकोमा आइपरेपछि जनशक्ति अभाव भएको उनले बताएका छन् । ‘यहाँ ड्युटी मारामार छ,’ उनले भने, ‘एउटा वडामा एउटा क्वारेन्टाइनका हिसाबले प्रहरीहरू परिचालन गरेका थियौं । अहिले वडामै छ–सातवटा क्वारेन्टाइन छ । प्रहरी खटाउन नसक्ने अवस्था छ । कहाँ–कहाँ भ्याउने ?’

जिल्लामा दुई सय ५० जना प्रहरी जनशक्ति रहेको उनले बताएका छन् । डोटीमा चार सयभन्दा बढी प्रहरी जनशक्ति दरबन्दी भए पनि रिक्त छ । उनले भने–‘धेरै मानिस भएको ठाउँ दुईरतीन जना नभए एक जनाका दरले क्वारेन्टाइनमा प्रहरी ड्युटीमा खटाइएको छ ।’

भारतबाट आउने मानिसको संख्या बढ्दै गए अब क्वारेन्टाइन व्यवस्थापन गर्न पनि समस्या हुने उनले बताएका छन् । ‘धनगढीबाट डोटीमा २०–२५ गाडीमा दिनकै मानिसहरू आइरहेका छन् । उनीहरूको विवरण राखेर सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनसम्म र्पुयाइराखेका छौं,’ उनले भने, ‘दिनमा हजार जनाभन्दा बढी मानिस जिल्ला प्रवेश गरेका छन् ।

१८–२० घन्टासम्म प्रहरी सडकमा ड्युटीमा खटेको उनले जानकारी दिए । उनले थपे–‘थकाइ लागेर एक–डेढ घण्टा प्रहरी सडकमै रेष्ट गरेका छन् । जिल्लामा जनशक्ति कम भए पनि थप संख्या माग नगरिएको उनले बताएका छन् । ‘थप प्रहरी माग्न अहिले असम्भव छ,’ उनले भने, ‘कैलाली, कञ्चनपुरतिर झन् कोरोनाको धेरै समस्या छ । उतै जनशक्ति अभाव छ ।’

धनगढी र महेन्द्रनगरमा थप मद्दतका लागि प्रहरी गण रहेको भन्दै उनले १४–१५ जना यसअघि नै ल्याएको पनि बताए । उनले भनेका छन्–‘कारागारमा रहेका प्रहरी जनशक्ति पनि त्यहाँ सुरक्षाको वैकल्पिक व्यवस्थापन मिलाएर निकाल्ने कुरा भइरहेको छ ।’

सेतोपाटीबाट साभार गरिएको ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्