सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

भारतसंग वार्ता गर्दा छुटाउनै नहुने २ प्रमाण

सन् १८१६ को सुगौली सन्धिले लिम्पियाधुरा मुहान भएको काली (महाकाली) अन्तराष्ट्रिय सीमा नदी हो भन्नुका विभिन्न तथ्यहरू छन् । त्यसैका आधारमा नेपाल सरकारले जेठ ८ गते महाकालीवारिका अतिक्रमित भू–भाग समेटेर नेपालको वास्तविक नक्सा सार्वजनिक गरेको छ ।

निशान छापमा यो सही नक्सा राख्न संविधान संशोधन प्रक्रिया पनि अगाडि बढेको छ । एक दर्जनभन्दा बढी पुराना नक्साले लिम्पियाधुरासम्मको नेपाल स्पष्ट देखाउँछ । यीमध्ये पनि दुईवटा नक्सा बढी महत्वपूर्ण छन् । यी दुई नक्साले लिम्पियाधुरामा मुहान भएको नदीलाई काली भनिएको मात्र छैन, दुई देशबीचको अन्तराष्ट्रिय सिमाना पनि यही हो भनेर स्पष्ट देखाएको छ ।

Nepal India Map

तत्कालीन ब्रिटिस–इण्डियाको ‘दि सिभिल एण्ड मिलिटरी स्टेसन्स’ द्वारा प्रकाशित नक्सामा नेपाली भू–भागलाई कालो र भारततर्फको भागलाई हल्का रातो रंगले देखाएको छ । नक्साले लिम्पियाधुराबाट निस्केको नदीलाई काली (महाकाली) भनेर स्पष्ट देखाएको छ ।

यो नक्सामा भारतले आफ्नो भनेर दाबी गरेको कुटी पनि देख्न सकिन्छ । २०१८ सालमा पत्रकार भैरव रिसाल कुटी, नाबी, गुन्जीलगायतका महाकालीवारिका यी गाउँमा जनगणना गर्न खटिएका थिए । २०१५ सालमा सम्पन्न नेपालको पहिलो आमनिर्वाचन यी गाउँवासीले मतदान गरेका थिए ।

विलियम एच आलन एण्ड कम्पनीद्वारा १८५७ मा प्रकाशित अर्को नक्सा (म्याप अफ दि वेस्टर्न प्रोभिन्सेस अफ हिन्दुस्तान दि पञ्जाब, राजपुताना, सिन्धे, काबुल एण्ड कम्पनी) मा पनि लिम्पियाधुरा मुहान भएको कालीलाई अन्तराष्ट्रिय सीमा नदी भनेर उल्लेख गरेको छ ।

Nepal India Map

दोस्रो नक्सामा पनि कुटी नेपालभित्र देखिन्छ । दुवै नक्साले देखाएको भन्दा पूर्व लिपुलेकसम्म आएर भारतले करिब ४० हजार हेक्टर नेपाली भू–भाग अतिक्रमण गरेको छ ।

८ जेठ २०७७ अघिको नेपालको नक्सामा कालापानी, लिपुलेकलगायत छ हजार हेक्टर भूमि भारतले अतिक्रमण गरेको जानकारहरू बताउँछन् । भारतले सुरक्षाकर्मी राखेको कालापानी पनि नेपालको पुरानो नक्सा भित्रकै भू–भाग हो ।

सुगौली सन्धिको धारा ५ मा ‘काली (महाकाली) नदी पश्चिमका भू–भागमा नेपालका राजाले दाबी गर्ने छैनन्’ भनिएको छ । १४ भन्दा बढी नक्साले गुन्जी, नाबी, कुटीलाई कालीवारि नेपालभित्र देखाएको छ ।

भूगोलका प्राध्यापक डा. नरेन्द्रराज खनाल भन्छन्–‘भारतसँग वार्तामा बस्दा नेपालले छुटाउनै नहुने प्रमाण हुन् यी दुवै नक्सा ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS