सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रुकुमको सोती घटना छानबिनमा गृहको टोली सक्रिय

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ सोती गाउँमा नवराज बिकसहित ६ जनाको ज्यान जानेगरी भएको घटना छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको समितिले घटनास्थलको अवलोकन र भेटघाटलाई तीव्रता दिएको छ ।

समितिले निष्पक्ष छानबिनमा शंका नहुने गरी प्रतिवेदन आउने जनाएको छ । ‘घटनाको निष्पक्ष छानबिन गरी तोकिएकै समयमा प्रतिवेदन पेस गर्छौं,’ छानबिन समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतले भने, ‘सबैतिर मिहीन ढंगले भेटघाट र छलफल गरिरहेका छौं ।’

सोमबार जिल्ला प्रशासन कार्यालयमा पुगेको टोलीले दलित अधिकारकर्मी र सञ्चारकर्मीसित घटनाबारे छलफल गरेको छ । घटना भएका दुवै जिल्लाका सुरक्षा प्रमुख, पीडित, उनीहरुका आफन्त र घटनामा जोडिएका व्यक्तिसँग भेटघाट सकिएको टोलीले जनाएको छ । टोलीले घटनास्थलको अवलोकनसमेत सकेको छ ।

Rukum chaujahari ghatna investigation team

चौरजहारी नगरपालिका–८, सोतीगाउँमा गत शनिबार जाजरकोटबाट आएका युवाहरु गाउँलेको आक्रमणमा परेका थिए । प्रेमिकालाई भगाउन आएका जाजरकोटका युवामाथि गाउँलेले आक्रमण गर्दा ५ जनाको मृत्यु भएको थियो भने एक बेपत्ता छन् ।

घटनामा संलग्न भएको भन्दै प्रहरीले ८ नम्बर वडाध्यक्ष डम्मरबहादुर मल्लसहित १८ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । मन्त्रालयले सहसचिव जितेन्द्र बस्नेतको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

बस्नेत नेतृत्वको छानबिन समितिमा नेपाल प्रहरीका एसएसपी जनक भट्टराई, अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशक ओमबहादुर खड्का, गृह मन्त्रालयका उपसचिव वशिष्ट घिमिरे र माधव ढकाल सदस्य छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्