नेपालमा कोरोना संक्रमितको संख्या २४९५ पुग्यो
कोरानो सम्बन्धि पछिल्लो अपडेट अनुसार नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या २ हजार ४ सय ९५ पुगेको छ । पछिल्लो जानकारी अनुसार दैलखमा एकैदिन ११३ जना कोरोना संक्रमित भएको पुष्टि भएको छ भने रौतहटमा ६५ जना संक्रमित भएका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालामा भएको परीक्षणमा बिहीबार एकैदिन ११४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दैलेखका मात्रै ११३ जना रहेका छन् । यस्तै मुगुका १ जना रहेका छन् ।
संक्रमितमध्ये दैलेखको नारायण नगरपालिकाका ५ महिलासहित ७२ जना रहेका छन् । यस्तै देवलकाँडाका १२, सोतका ९, मानटाकुराका ७, भगनीका ५, नौमुलेका ५, साडुका २ र बासकोटमा १ जना रहेको प्रतिष्ठानले जनाएको छ । मुगुका संक्रमित खत्याडका पुरुष हुन् ।
पछिल्लो समय कर्णाली प्रदेशमा संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएको छ । कर्णाली प्रदेशमा अरु प्रदेशको तुलनामा ढिलागरी संक्रमण देखिएपनि भारतबाट आएकाहरु प्रदेशमा भित्रिएसँगै संक्रमित पनि थपिँदै गएका हुन् । हालसम्म कर्णालीमा ३८४ जनामा संक्रमण पुष्टि भइसकेको छ भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै २१३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
त्यसैगरी बिहिबार नै रौतहटमा एकैदिन ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटमा बिहीबार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताएका हुन् ।
घिमिरेका अनुसार इशनाथ नगरपालिकाका ४६, गुजरा नगरपालिकाका ८, गढीमाई नगरिपालिकाका ७ तथा चन्द्रपुर, माधवनरायण र फतुवा विजयपुर नगरपालिकाका एक–एक जना र दुर्गा भगवती गाउँपालिकाका १ जना गरी कुल ६५ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका सबै भारतबाट फर्किएर हाल क्वारेन्टाइनमा बसेका व्यक्तिहरु छन् । बिहीबार थपिएका ६५ जना संक्रमित सँगै रौतहटमा संक्रमित हुनेको कुल सँख्या ३८३ पुगेको छ ।
गण्डकी प्रदेशमा मात्रै बिहान १६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । बागलुङमा १०, पर्वतमा ४, स्याङ्जा र म्याग्दीमा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमित हुनेमा बागलुङको निसीखोला गाउँपालिकाका वर्ष २२ र २९ का २ जना पुरुष तथा वर्ष ३३ की १ जना महिला छन् । यस्तै बाग्लुङको बडीगाड गाउँपालिकाका वर्ष १६, २०, २१ र २५ का ४ जना पुरुष र बाग्लुङकै गल्कोट नगरपालिकाका २०, २२ र २३ का ३ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।
गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार पर्वतको फलेबास नगरपालिकाका वर्ष २१ का २ जना पुरुष र पर्वतकै बिहादी गाउँपालिकाका २४ र २८ वर्षका २ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।
यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका वर्ष १८ का १ जना पुरुष र म्याग्दीको मंगला गाउँपालिकाका वर्ष १९ का १ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको डा. शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । बुधबार साँझ सम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या २३ सय पुगेकोमा १६ जना थपिएसंगै जम्मा संक्रमितको संख्या २३ सय १६ पुगेको छ ।
बुधबार दोलखा घर एका ७६ बर्षिय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक र दोलखाका एक गरी ९ जनाको मृत्यु भएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्