सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

सुगौली सन्धिपुर्वको गोप्य पत्रमा लिम्पियाधुरा नेपालको

नेपाल–अङ्ग्रेज युद्ध समाप्तिपछि सुगौली सन्धि हुनुअघि नै तत्कालीन इस्ट इण्डिया कम्पनी महाकाली नदीलाई नेपालसँगको सिमाना मान्न तयार रहेको एउटा पुरानो दस्तावेजले देखाएको छ ।

सन् १८१५ मा तात्कालिन इस्ट इण्डिया कम्पनीको गभर्नर जनरल लर्ड मोइराले ब्रिटिश सरकारको एउटा कमिटीलाई लेखेको गोप्य पत्रमा काली नदीलाई उपनिवेशकालीन भारत र नेपालको सीमाका रूपमा स्वीकार गरेका थिए ।

कुमाउ युद्धमा आफ्ना सैनिकले गौर्खाली फौजलाई हराएपछि लेखिएको उक्त पत्रमा स्पष्टसँग सीमा किटान गरिएको छ । त्यो ब्यहोरा सहित उक्त पत्र लेखिएको झण्डै १० महिनापछि नेपाल र इस्ट इण्डिया कम्पनीबीच सुगौली सन्धि भएको थियो, जसको पाँचौ बुँदामा नेपालका राजाहरूले काली नदी पश्चिमको भूभागलाई आफ्नो भनेर दाबी नगर्ने उल्लेख छ ।

सो ’गोप्य पत्र’ सहित अन्य नेपाल–अंग्रेज युद्धका दस्तावेजहरू सन् १८२४ मा प्रकाशित ‘पेपर्स रेसपेक्टिङ् द नेपाल वार’ नामक पुस्तकमा सङ्ग्रह गरिएका छन् । महाकाली नदीको उद्गम विन्दुका बारेमा नेपाल र भारतका अधिकारीहरूबीच लामो समयदेखि मतभेद कायम छ ।

सन् १८१५ को गोप्य पत्रः अर्को प्रमाण
कालापानी विवादबारेको इतिहास नजिकबाट नियालेका कतिपय विज्ञहरूले लर्ड मोइराले सन् १८१५ को जुन १ तारिखमा पठाएको पत्र भारतसँग लामो समयदेखिको सीमा विवाद समाधान गर्न एउटा महत्वपूर्ण प्रमाण हुनसक्ने बीबीसीलाई बताएका छन् ।

त्यसले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमाथि नेपालले गरिरहेको दाबीलाई बल दिने उनीहरूको भनाइ छ । ४९ बुँदे उक्त पत्रको ३७ औँ बुँदामा कुमाउलाई आफूमा विलय गराउनुलाई ‘मूल्यवान’ उपलब्धि भन्दै काली नदीलाई सिमाना बनाइने उल्लेख छ ।

आफ्नो पत्रमा कुमाउमाथि नियन्त्रण गर्दा करमार्फत हुने आम्दानी सबिस्तार उल्लेख गरिएको भन्दै लर्ड मोइराले लेखेका छन्–“म पश्चिम प्रान्तको सीमा अलकनन्दा र गङ्गा वा अन्तत; भागिरथी र गङ्गासम्म पु¥याउन प्रस्ताव गर्छु किनभने देशको भूगोलबारे राम्रोसँग सोचविचार गर्ने सामथ्र्य मसँग छ ।“

“पूर्वतर्फको हाम्रो सीमा काली नदी हुनेछ जुन हिमालयबाट निस्किन्छ र त्यहाँबाट लगभग सिधाबाटोबाट दक्षिणी क्षेत्रहुँदै समथर भूभागमा पुग्छ र त्यहाँ त्यसलाई गोग्रा भनेर चिनिन्छ ।“

इतिहासबारेकी एक अनुसन्धानकर्ता अवन्तिका रेग्मीका अनुसार इस्ट इन्डिया कम्पनीका गभर्नर जनरल फ्रान्सिस एड्वार्ड रअडन ह्यास्टिङ्ग्सलाई लर्ड मोइरा भन्ने गरिन्छ र उनले सन् १८१५ मा पठाएको पत्रले नै सुगौली सन्धीको आधार तयार पारेको हो ।

उनी भन्छिन्–“उक्त पत्रमा सुगौली सन्धीको खाका देख्न सकिन्छ । यदि नेपालले सम्झौता गर्छ भने पश्चिममा काली नदी सिमाना हुन्छ भनेर उक्त पत्रमा खुलाइएको छ। र, काली नदीको उद्गमस्थल नै सिमाना हुने लेखिएको छ ।“

उनले काली नदीको मुहानलाई नेपालको सीमा भनेर स्थापित गराउन उक्त पत्र महत्वपूर्ण हुने बताइन् । गोप्य पत्रको एउटा बुँदामा नेपाल समक्ष प्रस्तुत गर्नुपर्ने सर्तहरू पनि उल्लेख गरिएका छन् ।

ह्यास्टिङ्ग्सको पत्रमा श्रोतबाट हुने प्रत्यक्ष लाभ बाहेक पनि नजिककै चिनियाँ सीमा क्षेत्रका कारण पनि कुमाउ महत्वपूर्ण रहेको उल्लेख छ । हिमपर्वत पारि चिनियाँ भूगोल रहेकाले चीनसँग सम्पर्क कायम गर्ने ठूलो अवसर रहेको उनले लेखेका छन् ।

पत्रमा शान्तिका लागि गोर्खा सरकारसँग ६ वटा सर्त राख्न पनि सुझाइएको छ, जसमा ब्रिटिश सरकारको विशेष अनुमति बिना कुनै पनि युरोपेली वा अमेरिकी नागरिकलाई नेपाली भूभागमा रहन नदिने र सिक्किमका राजाको सुरक्षा सहितका बुँदा समावेश छन् ।

सन् १८१६ को मार्चमा सहमति भएको सुगौली सन्धिको पाँचौ बुँदामा नेपाली पक्षले काली नदी पश्चिमको भूभाग र त्यहाँ बस्ने मानिसहरूप्रति कुनै किसिमको सरोकार व्यक्त नगर्ने उल्लेख छ । सुगौली सन्धीलाई नेपालका राजाले १८१६ को डिसेम्बर महिनामा अनुमोदन गरेको बताइन्छ ।

‘लिम्पियाधुरा महाकाली नदीको उद्गमस्थल’
सीमा मामिलाबारे गहिरो अध्ययन गरेका नेपाली विज्ञहरूले काली नदीको उद्गमस्थल खोज्ने क्रममा आफूले नेपालको सिमाना लिम्पियाधुरासम्म रहको तथ्य फेला पारेको बीबीसीलाई बताएका छन् ।

सन् २०१५ मा भारत र चीनबीच लिपुलेकलाई व्यापारिक नाकाका रूपमा विस्तार गर्ने सहमति भएपछि दुवै देशसँग आफ्नो असन्तुष्टि व्यक्त गरेको सुशील कोइराला नेतृत्वको सरकारले कालापानी र सुस्ताबारे अध्ययन गर्न गठन गरेको समितिका संयोजक सूर्यनाथ उपाध्यायले आफूहरूले जुटाएका सम्पूर्ण तथ्यले नेपाली भूमि अतिक्रमित भइरहेको निष्कर्ष निकालेको जानकारी दिए ।

Kali River in Nepal

उनी भन्छन्, “हामीले सुगौली सन्धि र त्यस आसपासको समयमा तत्कलीन ब्रिटिश इण्डियासँग आवद्ध सर्भेयरहरूले निकालेका नक्साको गहिरो अध्ययन गर्दा पश्चिमतर्फको सिमाना काली नदी भनेर छुट्याउन हामीलाई गाह्रो भएन् । लिम्पियाधुराबाट निस्कने नदीनै काली हो भन्नेमा कुनै विवाद छैन ।“

हालै अनौपचारिक स्तरबाट नेपालको नयाँ नक्सा सार्वजनिक गरेको सीमा बचाउ अभियानमा आवद्ध पूर्व जलश्रोत सचिव द्वारिकानाथ ढुङ्गेल लर्ड मोइराको पत्रलाई एउटा अकाट्य प्रमाणको रूपमा प्रस्तुत गर्न सकिने बताउँछन् ।

उनी भन्छन्, “लडाइँ सकिने बित्तिकै बनाइने सिमानाको रूपरेखा इस्ट इण्डिया कम्पनीले तयार पारिसकेको त्यो पत्रले प्रमाणित गर्छ । गभर्नर जनरलले हाम्रो पूर्वतर्फको नेपालसँगको सिमाना यो हुन्छ भनेर लेखेको गोप्य पत्रलाई अहिलेसम्मको एउटा अधिकारिक प्रमाणका रूपमा हामीले मान्नुपर्ने हुन्छ ।“

सुगौली सन्धि भएको २१ वर्षपछि सन् १८३७ मा जेबी तासीनले बनाएको नक्साले काली नदीलाई लिम्पियाधुराबाट बगिरहेको देखाएको विज्ञहरू बताउँछन् । सन् १८५६ तत्कलीन ब्रिटिश इण्डियाका सर्भेयर जनरलले बनाएको नक्साले पनि काली नदीको उद्गमस्थल लिम्पियाधुरा देखाएको उनीहरूको भनाइ छ ।

तर १८५७ पछि ब्रिटिश इण्डियाले निकालेका नक्साहरूले काली नदीको उद्गमस्थल लिम्पियाधुरा देखाउन छाडेको तथा ती नक्सामार्फत र व्यवहारिक रूपमा नै नेपाली भूभागमाथि गरिएको शृङ्खलाबद्ध अतिक्रमण भएको नेपाली सीमाविद्हरूको बुझाइ पाइन्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS